काठमाडौं । नेपाल–भारत सम्बन्धका जानकार तथा भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले नेपाल–भारतबीच सीमा विवाद हुनुमा भारतको ठूलो हात रहेको बताएका छन् ।
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।
सोमबार उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारतबीच तनावपूर्ण परिस्थिति बन्नुमा भारतको ठूलो कूटनीतिक कमजोरी भएको छ ।’
साथै, उनले नेपालले पहिले यो विषयलाई उठाउँदा भारतले बेवास्था गरेको पनि सो विज्ञप्तिमा उल्लेख गरेका छन् ।
उनले भारतले यो विषयलाई गम्भीरतापूर्वक नलिएकोमा आश्चर्य प्रकट गरेका छन् ।
‘हामीले अहिलेको जस्तो परिस्थिति बिग्रन दिनहुन्नथ्यो । नेपालले गत नोभेम्बरमा यो विषय उठाउँदा गम्भीरतापूर्वक नलिएको देख्दा आश्चर्य लागेको छ । हामीहरुले तत्कालै विदेश सचिवस्तरीय वार्ताका पहल गर्नुपथ्यो र आवश्यक परेको खण्डमा परराष्ट्र मन्त्री र प्रधानमन्त्री तहमा पनि संवाद हुनुपर्थ्यो,’ सिंहले भनेका छन् ।
उनको विज्ञप्तिमा पहिले नै भारतको तर्फबाट भएको गम्भीर कूटनीतिक कमजोरीका कारण त्यसको परिणाम अहिले आएको उल्लेख छ ।
सिंह पहल नगरेको भन्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति थोरै असन्तुष्टि देखिएका छन् ।
केपी ओलीले नेपाललाई भारतसँगको दीर्घकालीन द्वन्द्वको अवस्थामा पु¥याएको पनि सो विज्ञप्तिमा उल्लेख छ ।
‘दशकौं पुरानो व्यक्तिगत र राजनीतिक नाता भएका हिसाबले पनि प्रधानमन्त्री ओलीले दुई मुलुकबीच गहिरो सामाजिक, सांस्कृतिक, परम्परागत र आर्थिक र राजनीतिक सम्बन्धका बाबजुद नेपाललाई सच्याउन नमिल्ने गरी सँधैका लागि भारतसँगको द्वन्द्वको अवस्थामा पुर्याएका छन् जसमा मलाई निकै दुःख लागेको छ,’ सो विज्ञप्तिमा उनले भनेका छन् ।
पछिल्लो कदमले भारतलाई असर पर्छ वा पर्दैन भन्ने यकिन नभए पनि नेपालका नागरिकहरुलाई प्रतिकूल हुने गरी असर पर्ने हो कि भन्नेमा आफू चिन्तित भएको समेत उनले सो विज्ञप्तिमा उल्लेख छन् ।
भारतका वरिष्ठ राजनीतिज्ञ सिंह नेपाल मामिलाका जानकार हुन् ।