काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा नेता डा. बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् ।
गोरखा सदरमुकाममा सोमबार उनले यस्तो बताएका हुन् ।
उनले भारतीय नेताले वार्ताको वातावरण बनाउन आफूलाई पटकपटक आग्रह गरेकोसमेत खुलासा गरेका छन् ।
साथै, उनले भारतका विदेशमन्त्री जयशङ्कर, अर्थमन्त्री निर्मला सीतारमनसँग आफ्नो भावनात्मक सम्बन्ध भएकाले बेलाबेलामा सम्पर्क पनि हुने गरेको बताए ।
‘अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढङ्गले लाग्नुपर्छ,’ उनले भने, ‘वार्ताको नेतृत्व सरकारले गर्नुपर्छ, म सहजीकरण गरी सहयोगीको भूमिका निर्वाह गर्न तयार छु ।’
पूर्वप्रधानमन्त्री डा भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुई देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्ने बताएका छन् ।
साथै, उनले देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढङ्गले अघि बढ्नु असान्दर्भिक हुने बताएका छन् ।
कालापानी क्षेत्रका नेपालको भूमि भएको र त्यसलाई कसैले खोसेर लान नसक्ने बताउँदै उनले अत्यन्त जिम्मेवार ढङ्गले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नुपर्ने उनले जोड दिए ।
उनले भने, ‘आफ्नो देशको मिचिएको भूमिमा भोगाधिकार स्थापित गर्न फौजी ढङ्गको बल प्रयोग गरेर भारतीय सेनालाई निष्कशित गर्नु एउटा बाटो भए पनि अहिलेको विश्वमा त्यो बुद्धिमानी र व्यावहारिक हुँदैन ।’
पूर्वप्रधानमन्त्री डा भट्टराईले वार्ताको पहल नगरी गरिएका वक्तव्यबाजीले मात्र समस्याको समाधान नहुनेसमेत दाबी गरेका छन् ।
पूर्वप्रधानमन्त्री डा भट्टराईले सीमासम्बन्धी विवाद, पारवहनसम्बन्धी सन्धि सम्झौता, अर्थ वाणिज्य सम्बन्ध विषय र अन्य विभिन्न सन्धि सम्झौता एकमुष्ट ढङ्गले समाधान गर्न प्रबुद्ध समूहबाट नै सम्भव भएको बताए ।
नेपाल र भारतका जनताबीचमा कहिलै पनि दुस्मनी नरहेको बताउँदै उनले खाली सत्ता र सरकारबीचमा मात्र खटपट भएको बताए ।
‘इपिजीमार्फत नै समस्याको सकसभर हल गर्नुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो,’ उनले भने ।