जेठ ०६, २०८१, आइतबार
               

प्रचण्डका घरबेटीले अलपत्र पारे नेतै नेता भएको नुवाकोटको बाटो
दुई वर्षमा सकिने काम ६ वर्षमा पनि अधुरै

ADVERTISEMENT

कुशल नेतृत्वको अभावले नेपालको उन्नति हुन नसकेको धेरैले भन्ने गर्छन् । यसको ज्वलन्त प्रमाण खोज्न कतै टाढै जानै पर्दैन । काठमाडौँको बालाजु सडकमै भेटिन्छ । अलिपर नुवाकोटको सीमासम्म पुग्नुभयो भने तपाईँलाई वर्तमान व्यवस्थाप्रति नै अनास्थाको भावना जाग्न सक्छ ।यसरी बहुदलीय व्यवस्था, सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि अनास्था र अविश्वास जगाउने काम फरक व्यवस्थाको पक्षधरले गरेका छैनन् । तीनै आफूलाई विकास र समृद्धी भनेर सदैव फलाक्ने राजनीतिक दलका नेताहरूले गरेका हुन् । 

धेरै शीर्षस्थ नेता जन्माइसकेको भए पनि नुवाकोट अविकास, बेथिति, अन्योल, असुरक्षा र निराशामा डुबेको छ । जहिल्यै पनि नुवाकोटबासीले असल नेताको चाहना राखे । तर सङ्ख्यात्मक रूपमा धेरै रहेका नेताबाट आम नागरिकको चाहना पुरा हुन सकेन ।

हालसम्म मुलुकको पटक पटक नेतृत्व गर्दै आएका सबै राजनीतिक दलहरूमा नुवाकोटमा जन्मिएका वा त्यहाँबाट प्रतिनिधित्व गर्ने शीर्षस्थ नेताहरू छन् । सांसद र जनप्रतिनिधि त सबै जिल्लामा हुन्छन्, तर नुवाकोटका नेता पार्टीका केन्द्रीय अध्यक्षदेखि शीर्षस्थ पदमा आसीन छन् । 

पटक–पटक मन्त्री भएका डा. प्रकाशचन्द्र लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष छन् । विश्वभरकै उत्कृष्ट अर्थमन्त्रीको रूपमा पुरस्कार थापेका काँग्रेस नेता डा. रामशरण महत पनि नुवाकोटकै हुन् । पटक पटक मन्त्री भइसकेका डा. प्रकाशशरण महतको गृह जिल्ला पनि नुवाकोट नै हो । काँग्रेसका अर्का प्रभावशाली नेता अर्जुननरसिंह केसी पनि नुवाकोटकै हुन् । उनी नुवाकोटबाटै पटक पटक निर्वाचित पनि भइसकेका छन् ।

केपी शर्मा ओली अघिल्लो पटक प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री रहेका महेन्द्रबहादुर पाण्डे पनि अरू जिल्लाका होइनन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उनी प्रभावशाली नेताको सूचीमा पर्छन् । तत्कालीन नेकपा माओवादीका उपाध्यक्ष पोस्टबहादुर बोगटी पनि नुवाकोटकै थिए । पुष्पकमल दाहालको मुख्य सारथि उनको भने ६ बर्षअघिनै निधन भइसकेको छ ।

धेरै शीर्षस्थ नेता जन्माइसकेको भए पनि नुवाकोट अविकास, बेथिति, अन्योल, असुरक्षा र निराशामा डुबेको छ । जहिल्यै पनि नुवाकोटबासीले असल नेताको चाहना राखे । तर सङ्ख्यात्मक रूपमा धेरै रहेका नेताबाट आम नागरिकको चाहना पुरा हुन सकेन । अहिलेको अवस्थामा नागरिकको सुविधाको लागि गाँउगाँउमा जोड्ने सडक बनाउने नेताहरूको प्राथमिकतामा पर्नुपर्ने हो । तर जिल्ला सदरमुकामबाट सीमा जोडिएको जिल्ला काठमाडौँ जोड्न मुख्य बाटोसमेत हिडिसक्नु छैन ।

बालाजु–ककनी–त्रिशूली सडक, जुन ६ वर्षयता यस्तै हालतको छ ।

यहाँ चर्चा गर्न लागिएको नुवाकोट-काठमाडौँ जोड्ने पासाङल्हामु मार्गको हो । जुन बाटो बनाउन नेताहरूले अग्रसरता नलिँदा नुवाकोट, रसुवावासीले ६ वर्षयता हैरानी भोग्दै आएका छन् । सो बाटोकै कारण एम्बुलेन्स समयमै बिरामी लिन पुग्न नसक्दा कतिपयले जीवन गएको छ । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको ठेक्का पाएको काठमाडौँदेखि रानीपौवासम्म जोड्ने बाटोमा अहिले सवारी साधन त के पशु चौपायासमेत हिँड्न नसक्ने अवस्था छ ।

अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनीसँग मिलेर जिम्मा लिएको बालाजु–रानीपौवा–त्रिशूली सडक ६ वर्षदेखि अलपत्र छ । करिब १७ किलोमिटर खण्ड ६ वर्षमा पनि कालोपत्रे सकिएको छैन ।

बालाजु–ककनी–त्रिशूली सडक जहाँ गाईबस्तु समेत राम्रोसँग हिँड्न सक्दैन ।शैलुङले २०७० सालमा भारतीय कम्पनी एआईपीएलसँग जेभी (जोइन्ट भेञ्चर) बनाएर ठेक्का पाएको हो । तर मुड्खु रानीपौवा खण्डमा काम नगर्दा सर्वसाधारण वर्षौँदेखि सास्ती खेप्न बाध्य छन् । सरकारले दुई वर्षअघि समयमै काम नगर्ने व्यवसायीलाई कारवाहीको ढोंङ पिटेको थियो । केहीलाई केही समयका लागि कारवाहीसमेत अघि बढाइयो । तर सत्तारुढ दल नेकपाकै अध्यक्ष प्रचण्डको संरक्षण प्राप्त ठेकेदार अधिकारीले भने कारबाहीको सट्टा म्याद थपको उपहार पाउँदै आएका छन् ।

सडक हिउँदमा धुलाम्मे र बर्षात्‌मा हिलाम्मे बन्छ । पानी परेपछि सडकमा मानिसहरू पैदल हिँड्न पनि सक्दैनन् । कम्पनीले ठेक्का पाएको ६ वर्षसम्म २० प्रतिशत पनि गरेको छैन । जबकि करिब १७ किलोमिटर सडकखण्ड वर्षको ३ किलोमिटरको दरले काम हुँदा पनि ६ वर्षमा सकिसक्थ्यो । 

आक्रोशित स्थानीयले बेलाबेलामा आन्दोलन गर्दै आएका छन् । तैपनि कुनै काम नभएको ओखरपौवाका स्थानीय ७५ बर्षीय जयनाथ फुयाँल बताउँछन् । उनी भन्छिन्  ‘यो सडक ७ सालदेखि बनेको हो । तर अहिलेको जस्तो हालत कहिल्यै थिएन । हिँडडुल गर्न समेत मुस्किल छ ।’

सडक नबन्दा आजित स्थानीय

रानीपौवा त्रिशूली खण्ड भने दिनेशचन्द्रलाल भारतीय कम्पनी, नागर्जुन र न्यौपाने दुई वटा नेपाली कम्पनीले जेभी बनाएर हात पारेका छन् । २०७१ सालमा सम्झौता भएको सोे ठेक्का दुई वर्षमा सक्ने लक्ष्य थियो । जसको काम पनि अहिले २० प्रतिशत पनि भएको देखिँदैन ।

सडक विभागका एक वरिष्ठ इन्जिनियरका अनुसार ठेकेदारको काम गर्ने क्षमता नै नरहेका कारण सो सडक नबनेको हो । ती इन्जिनियरले नेपाल फ्ल्याससँग भने- ‘ठेकेदारले स्रोत व्यवस्थापन गर्न सकेन । उपकरण, जनशक्ति, पैसा फिल्डमा लगाउन सकेन । जसको असर आयोजना परेको हो । उसको यही गति हो भने अझै ५ वर्षमा पनि काम सकिँदैन ।’

अधिकारीको ठेक्का तोड्न दुई पटक फाइल उठाए पनि त्यो सफल नभएको सडक विभागका एक उच्च अधिकारीहरू बताउँछन् । जसले गर्दा ठेकेदार अधिकारीले अझै लापरबाही गरिरहेका छन् । ती अधिकारीले भने- ‘शारदाप्रसाद अधिकारीले कुनै काम नै नगरे पनि उनको ठेक्का तोड्न कोही सक्दैन । उनका डेरावाल सत्तारुढ दलकै अध्यक्ष छन् । यस्ता मान्छेको ठेक्का किन तोड्नु भनेर कसैले सहयोग गरेन ।'  

पूर्वअर्थमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष डा. लोहनीले राजनीतिक संरक्षणकै कारणले बाटो नबन्दा नुवाकोटबासीले कष्ट झेल्नु परिरहेको बताए । उनले सडक अलपत्र पार्नेलाई कारवाही वा अन्य वैकल्पिक व्यवस्था गरेर यथासम्भव छिटो सडक आयोजनाको काम पूरा गर्न माग गरे ।

अध्यक्ष डा. लोहनीले सत्तारुढ दलको नालायकीकै कारण बाटो अलपत्र परेको जनाए । उनले भने- 'विपक्षमा हुँदा इमान्दार देखिने तर सत्तामा गएपछि बदमास बन्ने प्रवृति देखिएको छ । कानुन कमजोरलाई मात्र लाग्ने भएरै विकास आयोजनाहरू अलपत्र बनेका हुन् ।' 

शैलुङ कन्ट्रक्सनले अहिले काठमाडौँमै पाँचवटा सडक ठेक्का लिएर अलपत्र पारेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक सहसचिवका अनुसार शैलुङ पनि पप्पु जस्तै कम्पनी हो । ‘पप्पु र शैलुङबीच खासै फरक छैन । उनीहरू जस्तोसुकै हतकण्डा अपनाएर पनि ठेक्का हात पार्छन् तर काम गर्दैनन् । राजनीतिक कनेक्सनमा ठेक्का पारेर आयोजना नै डेथ बनाउने उनीहरू हुन्', ती सहसचिवले भने । परिस्थिति यस्तो छ कि शैलुङको कामबारे सबैलाई थाहा छ तर पहिचान दिएर कसैले बोल्ने हिम्मत गर्दैनन् । कसैले बोली हाले कारवाही वा अप्ठेरो ठाउँमा सरुवाको भय कर्मचारीहरूमा छ ।

सडक नबन्दा आजित स्थानीय

सडक नबन्दा आजित स्थानीय, जो आफूहरूले पटक–पटक दबाब दिदाँँ समेत काम छिटो नभएको गुनासो गर्छन्।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि