असोज ०६, २०८१, आइतबार
               

आजबाट सबै सरकारी कार्यालय खुल्ला

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । आजबाट सबै सरकारी कार्यालय खुल्ला हुने भएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लगाएको लकडाउनकाे ८३ दिनपछि सोमबारबाट सबै कार्यालय स्वास्थ्य सुरक्षा मापदण्डसँगै खुला हुने स्रोतले जनाएको छ ।

लकडाउनले सर्वसाधारण नागरिकको दैनिकी चलाउन समस्या भएपछि आर्थिक गतिविधिसँगै सबै सरकारी तथा गैरसकारी कार्यालय साविककै रूपमा सेवा प्रवाह गर्ने गरी सरकारले खुलाउन सुरु गरेको हो ।

मन्त्रिपरिषद्ले गत साता नै लकडाउनको स्वरुप परिवर्तन गर्ने निर्णय गरेको थियो ।  संघीय मामिला तथा सामान्य मन्त्रालयका अनुसार कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरी कार्यालय खोल्ने तयारी गरिएको छ ।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव वसन्त अधिकारीले सरकारले बनाएको आवश्यक स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सोमबारदेखि सबै सेवा सुचारू गर्न लागिएको जानकारी दिए । आर्थिक वर्ष सकिनै लाग्दा सर्वसाधारण, व्यवसायी, कम्पनी र सङ्घसंस्थाको वार्षिक लेखा तथा कर फछ्र्योट गर्नुपर्ने भएकाले कार्यालयहरू खुलाउनु आवश्यक भएको उनले बताए ।

उनका अनुसार आजदेखि सबै कार्यालय दुई सिफ्टमा सञ्चालन हुनेछ । पहिलो चरणमा बिहान ८ बजेदेखि १ बजेसम्म र दोस्रो चरणमा १ देखि साँझ ६ बजेसम्म कार्यालय खुला गर्न लागिएको जनाइएको छ ।

कार्यालयमा कार्यरत कुल कर्मचारीको आधा कर्मचारी पहिलो सिफ्टमा र बाँकी आधा कर्मचारी अर्को सिफ्टमा सेवा प्रवाह गर्ने गरी व्यवस्था गरिएको छ।  सर्वसाधारणलाई सहज र छिटो सेवा प्रवाह गर्न सरकारले एकै दिन दुई सिफ्टमा सेवा प्रवाह गर्न लागेको हो ।
 


कस्तो लाग्यो ?

यो पनि