उनलाई नजिकबाट चिन्नेहरूले अहिले पनि भन्ने गर्छन् ‘सरिता गिरीले नेपालमा राजनीति गर्नकै लागि बिहे गरेर आएकी हुन्, उनले नेपाली नागरिकता प्राप्त गरेपछि सम्बन्ध विच्छेद गरिन् ।’
सरिता गिरी पछिल्लो समय धेरै विवाद र चर्चामा आएको नाम हो । संविधानको अनुसूची ३ को निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिकको लागि ल्याइएको विधेयक सर्वसम्मतिले पारित नगराउन धेरै लबिङ गरे पनि उनी असफल भइन् । उनले लिपुलेक, कालापानी नेपालको नभई भारतको रहेको दाबी गर्दै विधेयक खारेजको माग गरेकी थिइन् । स्वाधिनमुलुकको अखण्डतामा आँच आउने अभिव्यक्ति दिँदै आएकी उनले अन्ततः प्रस्ताव खारेज भएपछि संसद् बैठक छाडेर हिडिन् ।
नेपालको संसद् सदस्य रहेकी उनलाई भारतीय मिडियाले भने अहिलेसम्म पनि भारतीय नागरिक रहेको दाबी गरेका छन् । भारतको चर्चित अनलाइन न्यूजपोर्टल ‘इन्डिया टुडे’ का अनुसार सरिता गिरी सधैँ नेपालको हितको पक्षमा भन्दा भारतको हितमा सोच्ने गर्छिन् । हुन पनि हो, नेपाली जनताको प्रतिनिधि आवाज बोल्ने सङ्घीय संसद्मा सरिता गिरीले नेपाली जनताको आवाज उठाउनभन्दा भारतीय रणनीति स्थापित गराउने खालका गतिविधि गरिरहेकी छन् । सडकदेखि सांसद्सम्मका उनका पछिल्ला अभिव्यक्तिहरू हेर्दा सरिता गिरी नेपाली जनताको प्रतिनिधि नभई संसद्मा भारतको घुषपैठको रूपमा धेरैले अर्थाएका छन् ।
आखिर भारतीय नागरिक सरिता गिरी कसरी नेपाली सांसदसम्म प्रवेश गरिन् त ? हामीले उनका नातेदार तथा नजिकबाट चिन्नेहरूसँग कुराकानी गरेर उनको नेपालको सांसदसम्मको यात्रा संझिप्त रूपमा उल्लेख गरेका छौँ ।
भारतीय छोरी यसरी छिरिन नेपालको सांसद्सम्म
भारतको विहारकी सरिता गिरी सिराहामा नेपालीसँग विवाह गरी आएकी हुन् । उनको माइती भारतको विहार राज्यअन्तर्गत सोनपुर पहलेजाघाट हो । भारतीय राजनीतिक पृष्ठभूमि परिवारकी उनी विवाहअघि भारतमा राजनीतिक गतिविधिमै सक्रिय थिइन् । उनी विद्यार्थी जीवनबाटै भारतीय कंग्रेसमा आबद्ध थिइन् ।
सरिता गिरीले विसं २०३६ सालमा लहानका इन्जिनियर लक्ष्मण गिरीसँग विवाह गरिन् । विवाहको वर्षदिनपछि उनले नेपालको कानुनअनुसार ‘वैवाहिक अङ्गीकृत’ नागरिकता लिइन् । लगतै उनले नेपालमा राजनीतिक गतिविधिमा क्रियाशील हुन थालिन् । काँग्रेस नेता प्रदीप गिरीका नाताले भाइ पर्नेसँग उनले विवाह गरेकी थिइन् । तर उनले विवाह गरेका केही वर्षमै इन्जिनियर पतिसँग सम्बन्ध विच्छेद गरिन् ।
सम्बन्ध विच्छेदपछि सरिता गिरीले कानुनअनुसार पतिबाट केही सम्पत्ति हात पारिन् । आफ्नो राजनीतिक जीवनलाई अघि बढाइरहिन् । उनले गिरी थर पूर्वश्रीमान्बाट पाएकी हुन् र उनको अङ्गीकृत नागरिकता पूर्व श्रीमान् कै कारण पाएकी हुन् ।
उनलाई नजिकबाट चिन्नेहरूले अहिले पनि भन्ने गर्छन् ‘सरिता गिरीले नेपालमा राजनीति गर्नकै लागि बिहे गरेर आएकी हुन्, उनले नेपाली नागरिकता प्राप्त गरेपछि सम्बन्ध विच्छेद गरिन् ।’ उनका पूर्व पतिको भने अहिले निधन भइसकेको छ ।
उनको माइती भारतीय राजनीतिक पृष्ठभूमिको हो । सरिता गिरीका बुबा विजयबहादुर र आमा मणि हुन् । उनका बुबा तर्फका हजुरबा जलेश्वर गिरी भारतीय राष्ट्रिय काँग्रेसका नेता थिए । बेलायतको उपनिवेशबाट भारतीय स्वतन्त्रता सङ्ग्रामका सेनानी थिए । सरिता गिरी ०३१ सालमा इन्दिरा गान्धीको संकटकालविरुद्ध जयप्रकाश नारायणले आह्वान गरेको सम्पूर्ण क्रान्तिमा सहभागी थिइन् । त्यसबेला उनी स्कुले छात्रा थिइन् । उनले दक्षिण विहारको सानो सहर–चाइबासामा मिसनरी स्कुलमा पढेकी हुन् ।
नेपालमा ०४६ सालको आन्दोलनपछि बहुदलीय प्रजातन्त्र आयो । आम नागरिकले आफूलाई मन लागेको दलमा खुलेर समर्थन तथा सहभागी हुन पाउने अधिकार पाए । त्यससँगै सरिता गिरी पनि काँग्रेसमा अझै सक्रिय रूपमा लागिन् ।
त्यति नै बेला मधेसको समस्या लिएर आन्दोलनको नेतृव गर्दै आएका गजेन्द्रनारायण सिंहले सद्भावना पार्टी गठन गरे । सरिता गिरी पनि काँग्रेस छाडेर गजेन्द्रनारायण सिंह अध्यक्ष रहेको सद्भावना पार्टी प्रवेश गरिन् । र, मधेस केन्द्रित राजनीतिमा लागिन् । सरिता गिरी अहिले नेपालको प्रतिनिधिसभा सदस्य हुन् । उनले नेपालको संविधान बमोजिम पटक–पटक शपथ खाएकी छिन्– ‘जुनसुकै परिस्थितिमा पनि देशको कुभलो चिताउने छैन’ भनेर ।
उनी नेपालको पहिलो संविधानसभामा पनि समानुपातिकतर्फबाट सदस्य थिइन् । त्यस बेला उनी सद्भावना पार्टी (आनन्दीदेवी) की नेतृ थिइन् । त्यस बखत पनि उनी विवादमुक्त हुन सकिनन् । उनले पहिलो संविधानसभामा प्रस्ताव गरेकी थिइन् – ‘म यो देशको नक्सा स्विकार गर्दिन, नेपाल भनिने यो देशको नाम फेर्नुपर्छ ।’
२०६८ सालमा तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । उनको मन्त्रीपरिषदमा सरिता गिरी श्रममन्त्री बनिन् । ‘पद अनुकूलको आचरण नदेखाएको’ तर ‘आर्थिक अनियमितता गरेको’ भनेर प्रधानमन्त्री भट्टराईले बिचमै बर्खास्त गरेका थिए । त्यसपछि उनी केही समय राजनीतिक रूपमा छायाँमा परिन् । २०७४ सालको चुनावमा उनी तत्कालीन समयमा उपेन्द्र यादवले नेतृत्वको सङ्घीय समाजवादी पार्टीबाट समानुपातिक तर्फबाट सांसद बनेकी हुन् । सोही सांसद पद उनको कायमै छ ।
नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि सरिता गिरीले प्रमाण नपुग्ने भन्दै विद्ययकनै खारेज गरियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् । उनको कदम स्वाधिन मुलुकको अखण्डतामा आँच आउने खालको भन्दै सर्वत्र विरोध भयो ।
जनविरोध थाम्न नसकेर उनको पार्टीले ‘सांसद गिरीले संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने’ भन्दै औपचारिकताको लागि विज्ञप्ति जारी गरेको थियो । तर अहिलेसम्म उनको पार्टी राजपा समाजवादीले उनलाई कुनै कारबाही गरेको छैन । आफ्नो संशोधन विद्येयक खारेज भएको जानकारी सभामुख मार्फत पाएपछि सरिता गिरीले संसद् बैठक बहिष्कार गरेकी थिइन् ।
अङ्गीकृतप्रतिको अविश्वासको जग
नेपालमा अङ्गीकृत नागरिकताधारीहरू सांसददेखि र मन्त्रीसम्म भएका छन् । नेपालको संविधानमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत पद भने अङ्गीकृत नागरिकताधारीले नपाउने व्यवस्था छ । मधेश केन्द्रित दलहरू सो व्यवस्था संशोधन गर्दै अङ्गीकृत नागरिकता धारीलाई पनि उच्च पदमा पुग्न दिने व्यवस्था गर्न संविधान संशोधन गर्न माग गरिरहेका छन् । तर सांसद गिरीको आचरणबाट आक्रोशित जनता भने अङ्गीकृत नागरिकताधारीलाई कुनै पनि राजनीतिक अधिकार दिनुहुँदैन भन्ने आवाज उठाउन थालेका छन् ।
उनले पछिल्लो पटक संसद्मा छिर्दा पनि नेपाली जनताका नाममा शपथ खाएकी हुन् । नेपाली जनताले तिरेको करबाट सेवा र सुविधा लिँदै आएकी छन् । उनको पार्टी तत्कालीन सङ्घीय समाजवादी पार्टीले पनि जनताको समानुपातिक मतबाट उनलाई सांसद बनाइदिएको हो ।
उनलाई राष्ट्रका विरुद्ध निरन्तर विषवमन गर्ने सामाजिक, राजनीतिक, नैतिक अधिकार किमार्थ छैन । तर उनले आम नागरिकको भावना, चाहना विपरीत विवादित, देशद्रोही र राष्ट्रघाती अभिव्यक्ति दिँदै आएकी छिन् ।