नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा अध्यावधिक गर्न सर्वसम्मत स्वीकृत भएकाे संविधान संशोधन प्रस्ताव खारेज हुनुपर्ने भन्दै संसदमा संशोधन प्रस्ताव दर्ता गराएकी छिन् समाजवादी पार्टीकी नेतृ सरिता गिरीले । नेपालविरुद्ध लगातार आपत्तिजनक अभिव्यक्ति दिँदै आएकी उनले संसदमा संशोधन प्रस्ताव समेत दर्ता गराएपछि उनको संसद् पद गुम्न सक्ने खतरा देखिएको छ ।
गिरीले बुधवार संशोधन प्रस्ताव दर्ता गराएपछि फिर्ता नलिए उनीमाथि कारबाही गरिने तत्कालीन समाजवादी पार्टीले चेतावनी दिएको छ । तर, गिरीले आफू आफ्नो अडानमा कायमै रहेको बताएकी छिन् । अद्यावधिक गरिएको नेपालको नक्सा संशोधन खारेजको माग गर्दै संशोधन प्रस्ताव दर्ता गराएकी गिरीले आफ्नो प्रस्ताव फिर्ता नलिए उनलाइ पार्टीले कारबाही गर्ने छ । बुधवार समाजवादी संसदीय दलको प्रमुख सचेतक उमाशङ्कर अरगरियाले विज्ञप्ति निकालेर गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छन् । उनले नेपाल फ्ल्याससँग भने ‘उहाँले प्रस्ताव फिर्ता नलिएमा पार्टीले उहाँलाई आवश्यक कारबाही गर्नेछ ।’
एकीकृत भएको तर संसदमा वैधानिकता नपाएको समाजवादी र राजपा नेताहरूका अनुसार गिरीले संसदमा बोलेको कुराले पार्टी र मधेस आन्दोलनलाई हानी हुने भन्दै कारबाही गर्ने मतसमेत बलियो भएर आएको छ । यस्तै सो पार्टीका चौथो बरिएताका नेता डा. बाबुराम भट्टराईले अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतामा कुनै पनि प्रकारले आँच पुराउने कार्य गर्नु दण्डनीय हुने चेतावनी दिएका छन् । उनले ट्विटमार्फत सङ्केत दिएका छन् ‘जनता समाजवादी पार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो । यसका नेता–कार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता, सार्वभौमिकता र राष्ट्रिय स्वाधिनतामा कुनै पनि प्रकारले आँच पुराउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन् । जो–कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन् । कसैलाई कुनै भ्रम नहोस् ।
जनता समाजवादीपार्टी देशको गम्भीर र जिम्मेवार पार्टी हो।यसका नेताकार्यकर्ता कसैले पनि देशको भौगोलिक अखण्डता,सार्वभौमिकता र राष्ट्रिय स्वाधीनतामा कुनै पनि प्रकारले आँच पुर्याउने कार्य गर्नुहुँदैन र गर्न सक्दैनन्।जो कसैले गरे पनि त्यस्ता कार्य दण्डनीय हुन्छन्।कसैलाई कुनै भ्रम नहोस्! pic.twitter.com/b1Dr6dcfHx
— Baburam Bhattarai (@brb1954) June 10, 2020
गिरी संसदमा समानुपातिक तर्फबाट निर्वाचित सांसद हुन् । पार्टीले कारबाही स्वरुप उनलाई पदबाट बर्खास्त गर्न समेत सक्नेछ । त्यसो भए सांसद गिरीले भारतको पक्ष लिएर आफ्नो पद धरापमा पार्लिन् त ? के संशोधन प्रस्ताव उनले फिर्ता लिन्छिन् होला त ? सो दलका नेता राजेन्द्र श्रेष्ठ भन्छन् ‘संशोधन प्रस्ताव फिर्ता गरी नेपालको पूर्ण नक्सासहितको निसान छाप संशोधन पक्षमा दृढतापूर्वक उभिनुपर्छ, या त उहाँले कारबाही भोग्न (पार्टी छाड्न) तयार हुनुपर्छ ।’ यस्तै गिरीकै अभिव्यक्ति र केही भनाइका कारण पार्टी आलोचित भइरहेको भन्दै उनीप्रति सबै रुष्ट छन् ।
बुधवार संसद् सचिवालयमा प्रस्ताव दर्ता गराएपछि साँझ गिरीले आफू आफ्नो अडानबाट पछि नहट्ने बताएकी छिन् । उनी भन्छिन् ‘मैले आफ्नो संशोधन तथ्यपरक रूपमा राखेकी छु । विनाप्रमाण सरकारले नक्सासम्बन्धी संशोधन ल्याएको छ । प्रमाण बाहिर देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपर्यो नत्र खारेज हुनुपर्छ ।’
उनको पछिल्लो प्रतिक्रिया अनुसार उनी संशोधन प्रस्ताव फिर्ता नलिने मनस्थितिमा देखिन्छन् । सांसद गिरीले संशोधन प्रस्तावमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी छिन् । त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिँदै आएका छन् । गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भू–भाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै भारतको पक्षमा वकालत गर्दै आएकी छिन् ।