बैशाख २३, २०८१, आइतबार
               

सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि भएको सुब्बाको भनाइ

नेपाल फ्ल्यास
जेठ २२, २०७७

ADVERTISEMENT

काठमाडौं । अप्ठेरो परिस्थितिले सङ्घीय शासन प्रणालीको औचित्य पुष्टि भएको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

कोरोनोको रोकथाम र नियन्त्रणमा प्रदेश सरकारको उल्लेखनीय भूमिकाबाट प्रदेशसभाको औचित्य पुनःपुष्टि भएको उल्लेख गर्दै उनले प्रदेशसभामा बिहीबार यस्तो बताएका हुन् ।

‘संघीय शासन प्रणालीको सुदृढीकरण गर्दै प्रदेश तथा स्थानीय तहलाई प्रभावकारी बनाउनुपर्छ भन्ने कुरा थप स्पष्ट भएको छ,’ उनले भने, ‘बिरामीको स्वास्थ्योपचार, विशिष्टिकृत अस्पताल स्थापनालगायतमा देखाएको क्रियाशीलताले प्रदेश सरकारको औचित्य खोज्नेका लागि दरिलो जवाफ दिएको दिएको छ ।’

उनले विषम परिस्थितिमा प्रदेश सरकारले निभाएको भूमिकालाई नजरअन्दाज नगर्न आग्रह गरे । 

साथै, उनले सत्ता पक्षले सबै राम्रो भन्नुपर्ने, प्रतिपक्षले खोजी खोजी तथ्यहीन कुरा खोज्नुपर्ने संस्कृतिमा सुधार आउनुपर्नेमा जोड दिए । 

सकारात्मक आलोचना, सुझाव, टिप्पणी स्वीकार गर्न प्रदेश सरकार तयार बताउँदै लोकतन्त्रमा विश्वास गर्ने पार्टी सरकार यसका मूलभूत सिद्धान्त र मान्यताबाट टाढा भएर जनताको विश्वासघात गर्न नसक्ने बताए । 

मुख्यमन्त्री गुरुङले सङ्घीयताको कार्यान्वयन, प्रदेशसभाको औचित्य पुष्टि गर्ने सन्दर्भमा गण्डकी प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए । 

कोरोनाको रोकथाम नियन्त्रणका लागि पहिलोपटक बन्दाबन्दीको कुरा गण्डकी प्रदेश सरकारले उठाएको स्मरण गरेको बताउँदै उनले यसका लागि संरचना निर्माण गर्नेतर्फ अग्रणी भूमिका निर्वाह गरेको बताए । 

कोरोना रोकथाम र नियन्त्रणका लागि १० वटा विषयगत समिति गठन गर्ने सरकार गण्डकी प्रदेश सरकार मात्रै भएको उनले बताए । 

मुख्य मन्त्रीको नेतृत्वमा निर्देशक समिति, आर्थिक मामिला तथा योजना मन्त्रीको नेतृत्वमा पूर्वाधार निर्माणका लागि समन्वय समिति, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीको संयोजकत्वमा आपूर्ति व्यवस्थापन समितिजस्ता समिति गण्डकी प्रदेश सरकारले बनाएको पनि उनले जानकारी दिए । 

उनले कोरोना रोकथाम तथा नियन्त्रण कोष तयार गरी त्यसका लागि कार्यविधि तथा कोष सञ्चालक समिति बनाइएको बतए । 

नेपाल सरकार, निर्देशक समिति तथा अन्य समितिले गरेका कामको अनुगमन र समन्वयका लागि प्रदेश मुख्य सचिवको संयोजकत्वमा समिति बनाइएको उनेले बताए ।

कोरोनालाई परास्त गर्दै प्रदेशवासीको जीवनरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको पनि उनले बताए । 

प्रदेश प्रयोगशाला स्थापना भएको बताउँदै उनले यसमा दुई पीसीआर मेसिन  केन्द्रबाट आएको प्रोटेवल पीसीआर गरी दैनिक ५०० को परीक्षण गर्न सकिने व्यवस्था मिलाइएको बताए । 

यो पनि