काठमाडौं । घरमै बसेर चाडपर्व मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले मुस्लीम समुदायले मनाउदै आएको ईदको अवसरमा सोमबार शुभकामना सन्देश व्यक्त गर्दै भनेका छन्, ‘विश्वव्यापी महामारीको प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै ईदुल फित्र मनाउन आग्रह गर्दछु ।’
साथै, विभिन्न धार्मिक तथा सांस्कृतिक आस्थाहरु यस क्षेत्र (नेपाल) मा सम्मानित र संरक्षित भएको प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । ‘लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधिनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै कायम गरिने अक्षुण्ण एकता, सद्भावना र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो’, उनले भनेका छन् ।