काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बुधबार) बस्ने भएको छ ।
साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चिवालय बैठक बस्न लागेको हो ।
पार्टीभित्र आन्तरिक विवाद चर्कंदै गएपछि नेताहरुको पटक पटकको आग्रहमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सचिवालय बैठक स्थगित हुँदै आएको थियो ।
वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमबार छलफल गरेपछि मंगलबार सचिवालय बैठक बोलाइएको थियो ।
तर मंगलबार बैठक बस्न सकेन । सोमबार नै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालसँग प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।
मंगलबार प्रचण्डसँको छलफलपछि ओली बुधबार सचिवालय बैठक बोलाउन राजी भएका हुन् ।
आज बस्ने बैठकको मुख्य एजेन्डा स्थायी समिति बैठक बोलाउने हुने नेकपाका एक नेताले जानकारी दिए ।
यसअघि ओलीले पार्टीमा आन्तरिक छलफल नै नगरी दुई वटा विवादास्पद अध्यादेश जारी गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ ।
स्थायी समितिका १६ सदस्यले एक हप्ताअघि नै ओली र प्रचण्डलाई स्थायी समिति बैठक बोलाउन ज्ञापन पत्र बुझाएका थिए ।
पार्टीलाई जानकारी नै नदिई अध्यादेश जारी गरेको र प्रधानन्त्री ओली, सांसदहरु महेश बस्नेत तथा किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल सांसद अपहरण काण्डमा संलग्न भएको आरोप लागेपछि पार्टीका शीर्ष नेताहरुबीच छुट्टाछुट्टै छलफल तथा भेटवार्ता भएको थियो ।
अध्यादेश र सांसद अपरण काण्डपछि नेकपामा नेता तथा कार्यकर्ताहरु दुई ध्रुवमा बाँडिएका छन् । यसबीचमा नेताहरुको सक्रियता बढेको छ ।