मंसिर ०७, २०८१, शुक्रबार
               

अध्यक्ष राणा भन्छन् : राष्ट्रपति दलको प्रभावभन्दा माथि रहने गरी बहस गर्न आवश्यक छ

नेपाल फ्ल्यास
बैशाख १६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति कुनै पनि दलको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे नयाँ बहसका लागि आग्रह गरेका छन् ।

राष्ट्रपतिको गतिविधि संविधानको मर्म र भावना अनुकुल नरहेको, पार्टी र गुट विशेषको पक्षमा प्रष्ट देखिएको भन्दै राणाले यस्तो आग्रह गरेका हुन् ।

‘राष्ट्रपतिले प्रदर्शन गर्दै आउनु भएको पार्टी पक्षधरताको क्रम अध्यादेश जारी र खारेजी प्रकरणबाट गुट तहसम्म कायम रहेको प्रमाणिक रूपमा पुष्टि भएको छ । तसर्थ राष्ट्राध्यक्ष कुनै पनि पार्टीको प्रभावमा रहन नपाउने वैकल्पिक व्यवस्थाबारे छलफल र बहस प्रारम्भ होस् भन्ने आग्रह गर्दछु,’ राप्रपा अध्यक्ष राणाले मंगलबार ट्वीटमा भने ।

नेपालको संविधानले राष्ट्रपति पदलाई संविधानको संरक्षक एवं कुनै पार्टी विशेषप्रति कुनै मोह नराख्ने अभिभावकीय संस्थाको रूपमा परिभाषित गरी सोअनुरूप आचरणको अपेक्षासमेत राखे पनि राष्ट्रपतिको आचरण र क्रियाकलाप संविधानको मर्म र भावनाअनुरूप पटक्कै देखिएको उनले ट्विटमा उल्लेख गरेका छन् । 

महामारीको संकटमा समेत सत्तारूढ नेकपा र सरकारलाई आमजनताको चासो नभएको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । साथै, शक्तिसंघर्षका कारण जनता अभिभावकविहीन बनेको भन्दै उनले आपत्ति जनाएका छन् ।

‘सत्ता संघर्षका कारण नेकपा र सरकारको सम्पूर्ण ध्यान र ऊर्जा बालुवाटार, कोटेश्वर, भैंसीपाटी, खुमलटारवरिपरि घुमिरहेको छ । राज्यसत्ता नै शक्तिसंघर्ष र व्यवस्थापनमा एकोहोरो लागेपछि कोभिड–१९ विरुद्धको लडाई अभिभावकविहीन बनेको छ,’ उनको ट्विटमा भनिएको छ, ‘महामारी, जनसरोकार प्राथमिकता नबन्नु, चिन्ताको विषय हो ।’
 

यो पनि