जेठ ०४, २०८१, शुक्रबार
               

राजपा र समाजवादीमा एकतासँगै फुटको तरङ्ग

नेपाल फ्ल्यास
बैशाख ११, २०७७

ADVERTISEMENT

मधेस केन्द्रित दुई राजनीतिक दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) पार्टी एकीकृत दल दर्ता गर्न बिहीबार निर्वाचन आयोग जाँदै छन् । एकताको लागि सहमतिपत्रमा हस्ताक्षर गरेको भोलिपल्ट उनीहरू एकीकृत दल दर्ताका लागि आयोग जान लागेका हुन् । समाजवादी पार्टीका केही सांसदहरूले पार्टी फुटाउने चर्चा चलेपछि त्यसलाई रोक्न राजपासँग हतारमा एकता भएको हो ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको लकडाउनको बिचमा दलसम्बन्धी व्यवस्था गर्ने ऐनमा दल विभाजनमा केही खुकुलो व्यवस्था गर्ने गरी अध्यादेशमार्फत संशोधन गरेका थिए । सोही अध्यादेश उपयोग गर्दै समाजवादीका केही नेताले छुट्टै पार्टी दर्ता गर्ने तयारी गरेका थिए । समाजवादी पार्टीकी उपाध्यक्ष एवं‌‌‌ सांसद रेणु यादवको नेतृत्व सो पार्टी फुटाएर नयाँ पार्टी बनाउन सात सांसदले निर्णय गरिसकेका छन् । अध्यादेश अनुसार बनेको नयाँ कानुनअनुसार ४० प्रतिशत सांसद सङ्ख्या पुर्‍याएका उनीहरूले पनि बिहीबार नै नयाँ दल दर्ता गर्ने तयारी गरेका छन् । रेणु यादवको टोलीलाई पार्टी फुटाउन ४० प्रतिशत सांसद सङ्ख्या पुर्‍याउन नदिन समाजवादीले राजपासँग मिलेर दल दर्ता गर्ने तयारी गरेको हो ।

राजपा र समाजवादीको पार्टी एकीकरण समानताको आधारमा गरिने, पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल रहने भएको छ । दल दर्ताका लागि बिहीबार निर्वाचन आयोगमा जाने नेता राजेन्द्र महतोले बताए । ‘हामी आजै (बिहीबारै) दल दर्ताका लागि निर्वाचन आयोगमा जाँदै छौँ,’ उनले भने । एकीकृत पार्टीको झन्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रङ्गको बिचमा तारा हुनेछ । एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि