जेठ ०४, २०८१, शुक्रबार
               

प्रधानमन्त्रीको डिस्चार्जमा पूर्वानुमान नगर्न सचिवालयको आग्रह
चिकित्सकबाहेक अन्यलाई भेट्न दिइएन

नेपाल फ्ल्यास
फागुन २७, २०७६

ADVERTISEMENT

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको डिस्जार्चबारे कुनै निर्णय नभएको उनको सचिवालयले जनाएको छ । एक साताअघि दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली आफैँले डिस्चार्ज मागे पनि नदिइएको अस्पताल स्रोतले जनाएको छ । मिर्गौला प्रत्यारोपण गराएका बिरामीलाई सामान्यतय ५ दिनमा डिस्जार्च गरिने गरिएको छ । तर प्रधानमन्त्री ओलीमा भने थप संक्रमण नहोस् भनेर एक दुई दिन थप अस्पतालमा नै राख्ने चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्री ओलीको डिस्चार्जको बिषयमा कुनै अनुमान नगर्न पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आग्रह गरेका छन् । विभिन्न समाचारमाध्यमहरुमा अनुमानका भरमा डिस्चार्ज हुने मितिका समाचार आउपछि उनले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको बताउँदै छिट्टै डिस्चार्ज हुने जनाएका छन् । ‘बाहिर समाचारमा आएजस्तो प्रधानमन्त्री डिस्चार्ज हुने मिति तय भएको छैन, स्वास्थ्यमा भने उल्लेख्य सुधार आएको छ,’ थापाले भने । 

शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा. प्रेमकुमार खड्गाले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएका छन् । संक्रमण हुन नदिन अस्पतालले प्रधानमन्त्री ओलीसँग बाहिरी मान्छेसँगको भेटघाटमा कडाई गरेको छ ।

प्रधानमन्त्रीको स्वास्थ्यबारे गरिएका महत्त्वपूर्ण परीक्षणको रिपोर्ट सामान्य रहेको अस्पतालले जनाएको छ । उनलाई फिजियोथेरापी पनि निरन्तर भइरहेको छ । प्रधानमन्त्रीलाई मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालले जनाएको छ । उनी पनि सामान्य खाना खान र हिँड्डुल गर्न थालेको जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि