उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्माको स्वास्थ्यलाभको कामना गरेका छन् । उनले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीलाई स्वस्थ्य लाभको कामना गरेको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्ती मगरले जानकारी दिए ।
प्रेस संयोजक घर्तीले उपराष्ट्रपति पुनले स्वदेशमा नै मिर्गौला प्रत्यारोपण गरेमा स्वास्थ्य क्षेत्रमा जनताको विश्वास बढ्ने विचार प्रधानमन्त्रीसमक्ष राखेकाे जानकारी दिइएकाे छ ।
विसं २०६७ मा उपराष्ट्रपति पुनको पनि मिर्गौलामा समस्या देखिएपछि स्वदेशमा नै उपचार भएको थियो । प्रधानमन्त्रीको तेह्र वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रधानमन्त्री ओलीले गत तिहारपछि यता नियमित मिर्गौलाको डायलोसिस गराउँदै आएका छन् । उनको बुधबार मिर्गौला प्रत्यारोपण गर्ने तयारी छ ।
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्ने भएको छ ।