पर्वत । गृहमन्त्री रामबहादुर थापा बादलले स्थानीय तहमा भ्रष्टाचार बढेको बताएका छन् । उनले केन्द्रमा झन्डै दुईतिहाइ बहुमतको सरकार रहनु र अधिकांश स्थानीय तहमा नेकपाकै जनप्रतिनिधिको वर्चस्वका कारण अहिले नेकपाले नै भ्रष्टाचार गरे झै देखिएको बताएका छन् ।
उनले यसको समाधानका लागि लागि नेकपा नै सक्रिय भएर लाग्नुपर्ने पनि बताए । जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि पर्वत पुगेका थापाले अख्तियारलाई उद्धृत गर्दै यस्तो बताएका हुन् । साथै, उनले स्थानीय तहका भ्रष्टाचारीलाई कारबाही गर्ने हो भने सबै तह खाली हुने पनि बताए । उनले सरकार ढाल्न दुस्मन लागि परेको पनि बताएका छन् ।
‘वर्तमान सरकारले गरिरहेका राम्रा काम सहन नसकेर तथा नेकपा ठूलो शक्ति भएको देख्न नसकेर शत्रुले सरकार ढाल्ने र पार्टी फुटाउने प्रयत्न गरिरहेको छ,’ उनले भने, ‘केही प्रकरण र अन्य केही गल्तीका कारण दुष्मनले सरकार र नेकपालाई घेराबन्दीमा पार्ने मौकाका रूपमा उपयोग गर्न खोजिएको छ ।’
उनले सरकारमा रहेका नेता तथा मन्त्रीको विषयमा विभिन्न प्रकरणहरू बाहिर आउनुले पनि पार्टीको छविलाई नकारात्मक असर गरेको बताए ।