काठमाडौं । समाजवादी पार्टीकी सांसद सरिता गिरीले पूर्वाधार विकासका नाममा लिने भनिएको कर सरकारले फिर्ता नलिए संसद् अवरुद्ध गर्ने चेतावनी दिएकी छन् । आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले सरकारलाई यस्तो चेतावनी दिएकी हुन् ।
अर्थतन्त्रमा दिनप्रतिदिन गिरावट आएको भन्दै उनले सरकारले आफ्नो असफलता लुकाउनका करको दायरा बढाएको बताइन् ।
संसद्को सार्वभौमिकता मिचेर चोर बाटोबाट मन्त्रिपरिषद्ले कर थप्ने निर्णय गर्न नसक्ने भन्दै उनले पूर्वाधार विकासको नाममा पेट्रोलियम पदार्थमा शतप्रतिशत कर बढाउने निर्णय गरेकोमा आपत्ति जनाइन् ।
साथै, उनले सरकारले जनतालाई मूर्ख बनाएर दोहोरो कर लगाइएको पनि बताइन् । फागुन १२ मा मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा थप ५ रुपैयाँ पूर्वाधार विकास कर लगाउने निर्णय गरेको थियो ।