जेठ ०६, २०८१, आइतबार
               

एआइजी बढुवा सिफारिसको चार घण्टा : रकेट चढ्न खोज्नेलाई भेटघाट बन्द !

नेपाल फ्ल्यास
फागुन १६, २०७६

ADVERTISEMENT

काठमाडौँ । नेपाल प्रहरीमा रिक्त एआइजी पदमा सातजना आकांक्षी रहेका थिए । तीमध्ये डिआइजी सूर्य उपाध्याय एआइजी नहुने पक्कापक्की थियो ।

डिआइजी प्रधुम्न कार्कीले पनि आफू तत्काल एआइजी नहुने भन्दै खेलबाट बाहिरिएका थिए । अन्तिमसम्मको खेलमा भने तारणी लम्साल, शैलेश थापा, हरि पाल, निरजबहादुर शाही र विश्व पोखरेल लागिरहे । लाग्नु पनि स्वाभाविकै थियो । तारणीलाई आफ्नै व्याची आइजीपी भएका बेला कम्युनिस्ट सरकारले बढुवामा छुटाउला कि भन्ने चिन्ता थियो । उनलाई कांग्रेसको आरोप लागेको थियो भने थापा कुनै राजनीतिक शक्ति केन्द्रसँगनजिक थिएनन् । 

उता पाललाई नेकपाकै नेताहरूबाट धोका हुने हो कि भन्ने चिन्ता थियो । शाही पनि एआइजीमा छिर्न पाए अर्को पटक सुदूरपश्चिमका नेताहरूले साथ दिए आइजीपी हुन सकिन्थ्यो भन्ने लागेर उनी पनि लागिरहे । उता नौ महिनापछि डिआइजी बढुवा भएर थापासँगै एआइजीमा बढुवा हुन पाए पाँच महिनापछि आइजीपी नै हुनसक्ने अभ्यासमा थिए डिआइजी विश्व पोखरेल । पोखरेलकै कारणले शक्ति केन्द्रसमेत प्रभावित बन्ने खतरा छँदै थियो ।

बुधवार गृह मन्त्रालयले एआइजी बढुवाको फाइल मगाएको थियो । प्रहरी महानिरीक्षक तीन जनाको नाम लिएर गृह मन्त्रालय पुगे । तर त्यो कुरा बढुवाको चलखेलमा रहेका सबैले थाह पाए । बढुवामा परेका दुइजना चुपचाप बसे पनि अन्य भने थप चलखेलमै लागे । लम्साल, थापा र पाल बढुवामा परेको सुइँको पाएपछि लम्साल र थापालाई नचलाई पालको विषयमा भने विभिन्न शक्ति केन्द्रमार्फत प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसम्म पुग्यो । पाललाई झिकेर उनको स्थानमा अरुलाई नै बढुवा गर्ने सन्देश गयो । बिहीबार बिहान यो विषयमाको को लागेका छन् भन्ने सुइँको पालले पनि पाए ।

विशेष ब्युरो प्रमुख रहेका पाललाई त्यहीँको स्रोतले विष्णु रिमाललाई सन्देश प्रवाह गर्ने र सोही सन्देश गृह मन्त्रालयमा पठाउने समेतको नाम जानकारी गराएपछि पालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय मागे । तर उनले समय पाएनन् । पालले समय नपाएपछि केही घण्टामै पाललाई बालुवाटारबाट फोन आयो र उनी वालुवाटार पुगे तर प्रधानमन्त्रीसँग भेट गर्न पाएनन् । डिआइजी पालले प्रधानमन्त्री नभेटे पनि प्रधानमन्त्रीको सल्लाहकार टिमलाई भेटेर आफ्नो कुरा सुनाए । बिहीबार बिहान १० बजेतिर पाल बालुवाटारबाट बाहिरिए ।

प्रधानमन्त्री निवासबाट गृहसचिव महेश्वर न्यौपाने र आइजीपी ठाकुर ज्ञवालीलाई बोलाइयो । प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसकै केही समयअघि गृहमन्त्री रामबहादुर थापासँग पनि छलफल गरेका थिए । थापा निस्किएपछि प्रधानमन्त्री निवास पुगेका सचिव न्यौपाने र आइजीपी ज्ञवालीले बढुवाबारे प्रधानमन्त्रीलाई विफ्रिङ गरे । ‘रकेट नै चढेर बढुवा हुन खोज्नेलाई रोकौँ प्रहरीमा चेन अफ कमान्ड नभत्काउँ, तपाईँहरुले जे निर्णय गर्नुभएको छ । त्यो सही छ पछिको कुरा पछि नै गरौला । आजै बढुवा अघि बढाउनुस् । गृहमन्त्रीज्यूको पनि चाहना त्यही छ’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

आइजीपी ज्ञवालीको बढुवा सम्बन्धी विफ्रिङले प्रधानमन्त्री सन्तुष्ट भएको समेत स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीलाई मन्त्रिपरिषद कै कुनै सदस्यले बढुवा रोक्न गरेको आग्रहलाई अस्वीकार गरेका थिए ।

बिहीबार दिउसो १ बजेतिर बालुवाटारबाट निस्केपछि सिधै गृह मन्त्रालय पुगेका न्यौपाने र ज्ञवालीले एआइजी बढुवाको फाइल अघि बढाएका थिए । उनीहरूले लम्सालसँगै एकै व्याचका दुई जना थापा र पाललाई पनि बढुवाका लागि सिफारिस गरे । बढुवाका सिफारिसको विषयमा छलफल भइरहेकोबेला आंकाक्षीमध्येका एक डिआइजी गृह मन्त्रालयमै पुगेका थिए । तर सचिव र आइजिपीले गोप्य बैठक भन्दै छिर्न दिएनन् ।

‘चार घण्टासम्म आइजीपी र सचिवले कोही कसैको पनि फोन उठाएनन्, गृहमन्त्री र प्रधानमन्त्रीको निर्देशनलाई पालना गरेको देखियो’, मन्त्रालय स्रोतले भन्यो । जसले गर्दा प्रहरीका चेनअफ कमान्ड कायम भएको छ । विगतको बढुवामा प्रायः एक नम्बर रहेका थापा र डिआइजी बढुवामा दुई नम्बरमा रहेका पाल एआइजी भएका छन् ।

प्रधानमन्त्री ओलीले व्यङ्ग्यात्मक शैलीमा ‘रकेट’ चढ्न खोज्ने भन्दै कसलाई शङ्का गरेका हुन? प्रहरीभित्र यसको खोजी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि