जेठ ०१, २०८१, मंगलबार
               

राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन राजपाको माग !

नेपाल फ्ल्यास
फागुन १४, २०७६

ADVERTISEMENT

काठमाडौँ । तराई मधेशमा राजनीति गर्दै आएको राष्ट्रिय जनता पार्टी (राजपा)ले संविधान संशोधनमार्फत राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन माग गरेको छ ।

सत्तारुढ दल नेकपाले सरकारमा आउन गरेको आग्रहसँगै राजपाका नेताहरूले अध्यक्ष मण्डलमा रहेका चार नेतालाई संसद्मा लैजानेगरी संविधान संशोधन गर्न माग गरेका हुन् ।

उनीहरूले हाम्रा केही नेताहरूलाई पनि राष्ट्रिय सभामा लैजानु पर्‍यो नि भनेपछि सत्तारुढ दलभित्र संविधान संशोधनको बहसले विषय प्रवेश पाएको थियो । ‘राजपाले राष्ट्रियसभाको सिट सङ्ख्या बढाउन मागेको छ । तर सङ्ख्या बढाउँदा राजपाको मागलाई मात्रै ध्यान दिइँदैन त्यस कारण कम्तीमा ८ सिट बढ्नेछ’, नेकपा उच्च स्रोतले भन्यो । 

शनिबारको सचिवालय बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विषय प्रवेश गराएका थिए । सो विषयमा राजपाले राखेको सर्तको बारेमा पनि छलफल भएको थियो । राजपालाई एक मन्त्री र उपसभामुख दिन तयार भए पनि उसले मानिराखेको छैन ।

राजपाको सर्तलाई मनाउन र सरकार दुई तिहाइको छ भन्ने देखाइरहन पनि संविधान संशोधन आवश्यक रहेको नेकपाको मान्यता देखिन्छ । ‘राजपाका नेताहरू महेन्द्र यादव, शरदसिंह भण्डारीलगायतलाई राष्ट्रियसभामा लैजानेगरी संविधान संशोधनको माग आएको सत्य हो । यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा उच्च तहमा छलफल जारी छ’, नेकपा उच्च स्रोतले भन्यो ।

नेकपाभित्र संविधान संशोधनको कार्यदल बनाउने निर्णय नहुँदै छलफलबाटै सो प्रक्रिया तुहिने अवस्था आएको छ । संविधान संशोधनको विषयमा छलफल हुँदा पनि कार्यदल बन्यो भनेर मिडिया हल्ला भएपछि त्यसले सार्थकता नपाउने अवस्था आएको हो ।


कस्तो लाग्यो ?

यो पनि