अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसिसी) खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको नेमकिपाले जनाएको छ । नेमकिपाका सांसद प्रेम सुवालको नेतृत्वमा रत्नपार्कबाट निकालिएको जुलुस अमेरिकी दूतावाससम्म पुगेको थियो ।
एमसीसी सैन्य गठबन्धनसँग सम्बन्धित रहेका कारण यो नेपालमा आवश्यक नरहेको उनले बताए । अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा अशान्ति चाहेको र उसको लक्ष्य यो क्षत्रमा युद्ध गरी हतियारको व्यापार गर्ने रहेको उनले बताए । नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकी सरकारलाई विरोधपत्र बुझाएको उनले बताए ।
प्रदर्शनका क्रममा देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, विदेशी पुँजीपति दलालहरु मुर्दावादलगायत नारा लगाइएका थिए । त्यसैगरी सैन्य गठबन्धन चाँहिँदैन्, अमेरिकी साम्राज्यवाद मुर्दावादलगायत नारा प्रदर्शनकारीहरुले लगाएका थिए ।