बैशाख २१, २०८१, शुक्रबार
               

आफ्नो क्याम्प बलियो बनाउन बामदेवलाई सांसद् बनाउने तयारी

नेपाल फ्ल्यास
फागुन १३, २०७६

ADVERTISEMENT

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो क्याम्प कमजोर भएपछि वामदेव गौतमलाई रिझाउन चाहन्छन । त्यसकै प्रतिफलमा गौतम पार्टीको उपाध्यक्षदेखि संगठन विभागसम्म बने ।

प्रतिनिधिसभाको चुनाव हारेपछि नेकपाभित्र वामदेव गौतम कमजोर बनेको चर्चा थियो । उनी निकट नेताहरु कोही प्रधानमन्त्री केपी ओली क्याम्पमा त कोही वरिष्ठ नेता माधव नेपालको क्याम्पमा जान थालेपछि उनी पार्टीभित्र एक्लो भए, तर ओलीले भने उनको साथ छाड्न सकेका छैनन ।

उमेरले पार्टी सचिवालयका सदस्यहरुमध्ये सबैभन्दा जेठा बामदेव हक्की र जुझारु स्वभावका नेता हुन्, तर आफुलाई पार्टीभित्र भूमिकाबिहीन अवस्थामा देखेपछि उनी असन्तुष्ट छन् ।

तत्कालिन एमालेको विधान फलो गरेका भए यतिखेर उनी राजनीतिबाट रिटायर्ड जीवन बिताउने योजना बुन्दै गरेका हुन्थे । तर तत्कालिन एमाले र माओवादी केन्द्रको एकतापछि पार्टीभित्र रहेको उमेर हद ७० वर्षको विषय विधानवाट हटाइयो । त्यसपछि पनि उनलाई पार्टी राजनीतिमा अझै सक्रिय बन्ने बाटो खुलेको थियो ।

देशभर वाम गठवन्धनका नेताहरुले चुनाव जितिरहदाँ गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ भने चुनावमा पराजित भएका थिए । यसबीच श्रेष्ठ गण्डकी प्रदेशवाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएर आईसकेका छन । संसदमा नरहेका शीर्ष नेतामध्ये गौतममात्रै छन् ।

गौतमको यो अवस्था देखेर उनलाई पार्टी जिम्मेवारीमा अगाडी बढाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नै प्रधानमन्त्री ओलीलाई बेलाबखत आग्रह गर्दै आएकी छिन् । त्यही क्रममा नेकपाले अहिले उनलाई शक्तिशाली बनाउँदै छ ।

पार्टीको महत्वपूर्ण विभाग संगठन विभागका प्रमुख बनाईएका उनलाई नेकपाले विधान संसोधन गरेरै गत केन्द्रीय कमिटीको बैठकवाट पार्टीको उपाध्यक्ष बनाएको छ ।

संसद् छिर्ने अनेक दाउ 

प्रतिनिधीसभामा पराजित भएपनि गौतमले संसद छिर्ने अनेक दाउ पनि यो बीचमा गरे । प्रतिनिधी सभाकै निर्वाचन सांसदलाई राजीनामा गराउन लगाई त्यो स्थानमा पूनः उपचुनाव गराएर गौतमले शुरुमा संसदमा छिर्ने दाउमा थिए । कहिले उनले डोल्पा ताके ,कहिले काठमाडौं । तर योजना सफल हुन सकेन ।

जब प्रधानमन्त्री ओली पार्टीमा अप्ठयारोमा पर्न थाले,  त्यसपछि उनले गौतमलाई काखी च्याप्ने अनेकन प्रयास गरे । राष्ट्रपति भण्डारी समेतको सल्लाहमा उनलाई प्रधानमन्त्री ओलीले आफनो पक्षमा तान्नका लागि अनेकन आश्वासन दिएर फकाए। तर गौतम अर्का अध्यक्ष प्रचण्डसँग पनि उत्तिकै नजिक छन् ।

प्रचण्डनिकट देखिएपछि गौतमलाई ओलीले विभिन्न पदको आश्वासन देखाउँदै आफ्नो समुहमै पूनः फर्काउने प्रयास गरिरहेका छन् । शनिबार सम्पन्न नेकपा सचिवालय बैठकमा समेत फेरि वामदेव चर्चामा आएका छन् । राष्ट्रिय सभा सदस्यमा लैजाने यस अगाडीको प्रयासमा वामदेवकै कारण सफल भएको थिएन- उनले स‌ंविधान संशोधन गर्दै राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्ने ब्यवस्था राख्नुपर्ने अडान लिएका थिए ।  अहिले फेरि उनलाई राष्ट्रिय सभामा लैजाने गरि नेकपा बैठकमा विषय प्रवेश भएको छ ।

गौतमले शनिबारको बैठकमा पनि संविधान संसोधनको विषयमा आफ्नो पुरानो अडानबारे के हुन्छ ? भनेर प्रश्‍न राखेका छन् । गत पुस २३ गते उनकै निवास भैसेपाटीमा बसेको नेकपाका बहुमत सचिवालय सदस्यहरुको बैठकले संविधान संसोधनका लागि प्रधानमन्त्रीसँग पनि आवश्यक छलफल गर्ने निश्र्कष निकालेकाे थियो । 

गौतमले शनिबारको बैठकमा त्यही विषय उठाउँदै संविधान संसोधन गरी राष्ट्रिय सभा र प्रतिनिधीसभाका सदस्यहरुको बिचको विभेद अन्त्य गर्ने विषय के भयो भनी प्रश्न उठाएका थिए ।

ओली गौतमलाई शक्तिशाली बनाई आफ्नो क्याम्पमा तान्न कसरतमा छन् । त्यही भएर संगठन विभाग, पार्टी उपाध्यक्ष र अब राष्ट्रिय सभामा मनोनित सांसदका रुपमा लान सकिए गौतमलाई आफनो पक्षमा तान्न सकिनेमा विश्वस्त देखिएका छन् ।

राष्ट्रिय सभामा फागुन २० बाट युवराज खतिवडाको म्याद सकिदैछ । त्यही स्थानमा बामदेव गौतमलाई लैजाने विषयमा नेकपामा अहिले छलफल छ । पार्टीमा उनलाई सांसद बनाउने विषयमा सबै नेताहरु सहमत भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि