प्रदेश २ की भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झाले राजीनामा फिर्ता लिएकी छन् । उनी राजीनामा दिएको झण्डै एक महिनापछि सोमबार मन्त्रालयमा हाजिर भएकी छन् ।
राजपाको तर्फबाट राज्यमन्त्री बनेकी झाले प्रदेश २ सरकारले गरिरहेको पापको भागिदार नबन्ने भन्दै संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनललाई माघ १४ मा राजीनामा पत्र बुझाएकी थिइन्।
उनले मुख्यमन्त्री बाहिर गएकाले पार्टीका संसदीय दलका नेतालाई राजीनामा बुझाएको प्रतिक्रिया दिएकी थिइन्।
तर उनको राजीनामा मुख्यमन्त्री लालबाबु राउतसमक्ष भने पुगेको थिएन । उनले पार्टीको आदेशलाई स्वीकार गरी राजीनामा फिर्ता लिएको प्रतिक्रिया दिइन्।
उनले भनिन्, ‘पार्टीको आदेश नमान्ने हो भने अर्को पार्टीमा जानुपर्छ। तर हामीले मधेसको एजेण्डा बोकेर राजनीति गरिरहेकाले त्यो पनि सम्भव छैन।
बाध्य भएर फिर्ता भएकी छु।’ पुनः पापको भागिदार बन्न राजीनामा फिर्ता लिनुभयो है भन्ने जिज्ञासामा उनले भनिन्, ‘के गरु तरु पार्टीले फिर्ता लिन भनेपछि फर्किनु पर्यो।’
सरकारले अब गर्ने कार्यक्रममा सहभागी गराउने र विश्वासमा लिएर अगाडि बढ्ने पार्टीले विश्वास दिलाएको उनले बताइन्।