काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले व्यक्तिगत कुरा लिएर संविधान संशोधनको कुरा अघि बढाउन नहुने बताएका छन् ।
शनिबार नेकपा सचिवालय बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनका लागि अध्ययन कार्यदल गठन गर्ने प्रस्ताव गरेपछि नेम्वाङले यस्तो बताएका हुन् ।
नेम्वाङ पनि तीन सदस्य रहेको कार्यदलको सदस्य भएको समाचारमा आएको थियो ।
संविधान संशोधन जस्तो गम्भीर कुरालाई जिम्मेवारीपूर्वक बढाउनुपर्नेमा कुनै व्यक्तिगत कुराका लागि यस्तो प्रस्ताव ल्याउन नहुने उनको तर्क थियो । एउटा जिम्मेवार पार्टीले यस्तो निर्णय गर्न नसक्ने नेम्वाङको भनाइ थियो ।
उनले भने, ‘संविधान संशोधन जस्तो कुरा साह्रै गम्भीर हो, यसलाई जिम्मेवारीपूर्वक लैजानुपर्छ । यो एकदमै पारदर्शी हुनुपर्छ, यो आवश्यकता र औचित्यको आधारमा हुनुपर्छ । यो व्यक्तिगत कुरा होइन् । हामीले यो भन्दा अगाडि एउटा समयकालमा अहिले संविधान संशोधनतिर जाने होइन, पहिला त संविधान कार्यान्वयन गर्नुप-यो भनेका थियौं । पछि संघको चुनाव भयो, संघीय संसदको, प्रदेशको चुनाव भयो, त्यसपछि हामीले भन्न थाल्यौं अब आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुनसक्छ किनभने आधारहरु तयार भयो । तर त्यो आवश्यकता र औचित्य स्थापित भएको हामीले अहिलेसम्म ठानेनौं ।’
मधेसवादी दलहरुसँग विभिन्न समयमा संविधान संशोधनका विषयमा कुराकानी हुँदासमेत तत्काल संशोधनको औचित्य नभएको बताउँदै आएको अवस्थामा अहिले सचिवालयले यस्तो निर्णय नगरेको विश्वास आफूले गरेको नेम्बाङले बताए । पार्टीका महासचिव विष्णु पौडेलसँग कार्यदलका विषयमा बुझ्दा उनले सचिवालयमा कुनै निर्णय नभएको जानकारी गराएको समेत नेम्वाङले बताए ।
नेम्वाङले कार्यदलमा सदस्य रहेको विषयमा आफूलाई औपचारिक जानकारी नभएको समेत उनले दाबी गरेका छन् ।
कार्यदल बनेको विश्वास आफूलाई नलागेको उल्लेख गर्दै उनले भने, ‘मलाई पार्टीको तर्फबाट कसैले पनि सम्पर्क गरेका छैनन्, जानकारी गराएका छैनन् । यस्तो कार्यदल बन्यो होला भन्नेमा मलाई विश्वास छैन् । पछिल्लो समयमा आएर स्वयं पार्टीका महासचिवले यसबारे कुनै पनि निर्णय नभएको जानकारी पनि गराउनुभयो । सचिवालयमा कुराचाहिँ आएको हो तर औपचारिक रुपमा यसो गर्ने समझदारी छैन् भन्ने कुराहरु पनि आए जसले अन्योल बढायो ।’
उनले थपे, ‘आज बिहान माधव नेपालसँग पनि कुराकानी भएको थियो । बिहान ११ बजे खिमलाल देवकोटाजी र म दुवै जना उहाँसँग कुराकानी गर्न गयौँ । उहाँ (खिमलाल देवकोटा) ले र मैले आफ्नो कुराहरु राख्यौँ । समग्र सञ्चार माध्यममा आएका कुराहरु सही हुन भन्ने लाग्दैन ।’
नेम्वाङले संविधान संशोधनको कुरा पादर्शी ढंगले बढ्नुपर्ने समेत बताएका छन् ।