बैशाख २५, २०८१, मंगलबार
               

राजा त्रिभुवनलाई स्मरण गर्दा गणतन्त्र ढल्दैन :  कमल थापा

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सद्भाव, सहिष्णुता र उदारताको अभावमा प्रजातन्त्र बलियो हुन नसक्ने बताएका छन् ।

आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित प्रवचन गोष्ठीमा बोल्दै थापाले २०६२/०६३ को राजनीतिक परिवर्तनपछि २००७ सालको क्रान्तिलाई अबमूल्यन र गलत व्याख्या गर्ने प्रयास भएकोमा आपत्ति प्रकट गरे ।

प्रजातन्त्रको निमित्त महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने स्वर्गीय राजा त्रिभुवनको विषयमा एक शब्द पनि खर्च गर्न आवश्यक नठान्नेहरुले इतिहासको सम्मान गर्न नसक्ने थापाको दाबी थियो ।

'आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिने राज्यका प्रमुख व्यक्तिहरुको शुभकामना सन्देश हेरें, प्रजातन्त्रलाई बल पुर्याउने युगपुरुष राजा त्रिभुवनको नामसमेत उच्चारण गरिएको देखिएन,' थापाले भने, 'राजा त्रिभुवनको स्मरणले गणतन्त्र कमजोर हुँदैन ।'

निषेध गर्ने संकीर्ण मानसिकताले इतिहासप्रति न्याय नहुने थापाको भनाइ थियो । इतिहास बिर्सनेहरुले आफ्नो पनि इतिहास सुरक्षित राख्न नसक्ने हुँदा त्यसतर्फ हेक्का राख्न उनको सुझाब थियो ।

प्रजातन्त्र सित्तैमा खान पाउने लन्च नभएकोले यसको निमित्त मूल्यचुकाउनु पर्छ भन्दै थापाले राजनीतिक परिवर्तनसँगै आर्थिक र सामाजिक रुपान्तरण नभए परिवर्तन दिगो र टिकाउ नहुने बताए ।

सहिष्णुता र उदार भावनाले मात्र प्रजातन्त्र बलियो हुने भएकोले दक्षिण अफ्रिकाबाट धेरै कुरा सिक्न सकिने चर्चा गरे ।

मुलुकलाई साम्यवाद र समाजबाद होइन मौलिक प्रजातन्त्र सुहाउने भन्दै थापाले मौलिक मूल्य मान्यता, नेपालीपन र नेपालित्वमा आधारित हुने सम्बर्द्धनबादको बाटोबाट हिँडाउन आवश्यक रहेको विचार व्यक्त गरे । कार्यक्रममा राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले प्रजातन्त्र बोलीमा मात्र सीमित भएको व्यवहारमा कहीँ नदेखिएको भन्दै प्रजातन्त्रको जामा भिरेर मनपरितन्त्र र सर्वसत्तावादको बाटोमा मुलुकलाई हिँडाउने प्रयास भैरहेको बताए ।

कार्यक्रममा राप्रपा नेताहरु मधु अधिकारी, रामहरि न्यौपाने, सीताराम बर्तौला, गुरुप्रसाद सापकोटा, गुन्जन न्यौपाने र बालकुमारी डल्लाकोटीले बोलेका थिए ।


कस्तो लाग्यो ?

यो पनि