काठमाडौँ । काठमाडौं जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई बलात्कार उद्योगको मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो ।
उनलाई संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा महरामाथि मुद्दा लागेको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले महरालाई कसुरदार होइन भन्न नसकिने भन्दै पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
जिल्ला अदालत काठमाडौंमा आइतबार पूर्वसभामुख महराको मुद्दा हेर्दाहेर्दैमा थियो । सुनुवाइ सकिए पनि अदालतको अन्तिम आदेश भने समयअभावका कारण आएको थिएन ।
महराको पक्षमा रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनालीलगायतले बहस गरेका थिए ।
संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा महरा पक्राउ परेका थिए । थुनछेकको बहसपछि महरालाई कारागारमै राखिएको थियो । यसबीचमा महरा पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थिए ।
अदालतमा महरा आइतबार हँसिलो पारामा उपस्थित भएका थिए । उनले आफन्त र कानुन व्यवसायीसँग ठट्टा पनि गरेका थिए ।