मंसिर ०७, २०८१, शुक्रबार
               

एमसिसीको विषयमा जथाभावी नबोल्न नेकपा नेता रावलको चेतावनी

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विषयमा अध्ययन गर्न गठित कार्यदलका सदस्य भीम रावलले एमसिसीको विषयमा जथाभावी नबोल्न शीर्ष नेताहरूलाई चेतावनी दिएका छन् । 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यसमिति बैठकले गठन गरेको कार्यदलका सदस्य रावलले अध्ययन भइरहेको विषयमा जथाभावी नबोल्न चेतावनी दिएका हुन् । 

नेकपाको दोस्रो पूर्ण केन्द्रीय समिति बैठकले गम्भीर विषयमा छलफल गर्ने अधिकार समितिलाई दिएको उल्लेख गर्दै नेकपा स्थायी कमिटी सदस्य समेत रहेका रावलले केन्द्रीय समिटीको कार्यादेशविपरीत कुनै पनि व्यक्तिले अन्यथा कुरा ग¥यो भने त्यो औचित्यहिन हुने बताए । 

केन्द्रीय समितिले दिएको अधिकारअनुसार आफूहरूले एमसिसी सम्झौता र योसँग जोडिएका विषयमा छलफल भइरहेको भन्दै एमसिसीका सम्बन्धमा निर्णय सुनाउने अधिकार केन्द्रीय कमिटीले कसैलाई नदिएको उनले बताए । 

उनले भने, ‘नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णयबमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा ग¥यो भने त्यो औचित्यहीन हुन्छ ।’ कार्यदलले समेत छलफलको समयमा सार्वजनिक अभिव्यक्ति नदिने विषयमा आचारसंहिता बनाएको उनले बताए । 

कार्यदलले सुझाव र निष्कर्षसहित प्रतिवेदन बुझाउने भएकाले केन्द्रीय समितिको कार्यादेशविपरित अभिव्यक्ति दिनु भनेको केन्द्रीय कार्यसमितिको अपमान गरेको ठहरिने उनले बताए । 

रावलले संसदमा प्रस्तुत भएका बाहेक अन्य दर्जनभन्दा बढी सम्झौता पनि कार्यदलले फेला पारेको खुलासा गरेका छन् । अहिलेसम्म संसदमा प्रस्तुत भएको बाहेक दर्जन बढी सम्झौता फेला परेको र अझै अरु पनि हुन सक्ने उहाँले बताउनुभयो । संसदमा प्रस्तुत भएको बाहेक अन्य सम्झौताका विषयमा आचारसंहिताका कारण बोल्न नमिल्ने उनले बताए । 

कार्यदलको सयम १० दिनका लागि थप गरिएको छ । ‘थपिएको १० दिनमा प्रतिवेदन तयार हुन्छ ?’ भन्ने प्रश्नमा रावलले सम्झौताहरूको अध्ययन गर्नुपर्ने भएकाले समय थप गरिएको र तोकिएको समयभित्रै प्रतिवेदन तयार हुने विश्वास व्यक्त गरे । 


कस्तो लाग्यो ?

यो पनि