काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले आफूसँग सरकारबिरुद्ध फौजी आक्रमण बढाइदिन आग्रह गरेको खुलासा गरेका छन् ।
जनयुद्ध दिवसका अवसरमा नेकपा मुख्यालयमा बिहीबार बिहान आयोजित श्रद्धाञ्जली सभामा प्रचण्डले यस्तो खुलासा गरेका हुन् ।
१२ बुँदे सहमतिको सेरोफेरोमा दैनिक सम्पर्क हुने गरेको र कोइरालाले आफूहरूलाई फौजी आक्रमण बढाइदिन आग्रह गर्ने गरेको प्रचण्डले बताए । ‘राजतन्त्र अन्त्यको लागि ठूल्ठूला फौजी आक्रमण गरिदिनु पर्यो भन्नुहुन्थ्यो,’ उनले भने, ‘यसले नै राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो ।’
राज्य र विद्रोही पक्ष फेरि शान्ति सम्झौतामा आउलान्, उनीहरूको सहकार्यबाट मुलुकमा राजतन्त्र अन्त्य होला भन्ने पनि कुनै बेला असम्भव जस्तै लाग्ने विषय रहेको प्रचण्डले बताए । तर सही विचार र सही नेतृत्वले गर्दा नै त्यो सम्भव भएको उनको भनाइ थियो ।
प्रचण्डले आफूहरूले सही विचार लिएकै कारण जनयुद्ध सम्भव भएको बताए । उनले तत्कालीन अवस्थामा माओवादीले सुरु गरेको जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको पनि स्मरण गराए । ‘यसले संविधानसभा जन्माउला, गणतन्त्र नेपाल स्थापना गराउला भन्ने थिएन,’ उनले भने ।
दश बर्से युद्धपछि शान्ति प्रक्रियामा आउने कुरा त्यति सजिलो नभएको पनि उनले प्रस्ट पारे । विचार र नेतृत्वप्रति आन्दोलनमा विश्वास हुँदैन थियो भने आजको परिवर्तन सम्भव नहुने समेत प्रचण्डको भनाइ थियो । प्रचण्डले केही वर्ष पहिलासम्म नेपालमा यति छिटो संविधान घोषणा भइहाल्ला, शत्रुतापूर्ण अवस्थामा रहेका मुख्य पार्टीहरू एकतामा आइहाल्लान् र दुइतिहाइ ल्याइ हाल्लान् भनेर कसैले सोच्न नसकेको टिप्पणी गरे ।