काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार असफल र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस प्रभावहीन भएको आरोप लगाएका छन् ।
काठमाडौँमा भएको राप्रपाको बागमती प्रदेश स्तरीय निर्वाचन अभिमुखीकरण बैठकमा बुधबार अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् ।
उनले जनजिविकाका सवालमा सरकार असफल हुँदा पनि प्रमुख प्रतिपक्षि कांग्रस प्रभावहीन भएको बताए ।
उनले राप्रपालाई उठाउने संकल्पसहित केन्द्रीय महाधिवेशन जुटन कार्यकर्तालाई निर्देशन दिए । अध्यक्ष थापाले भने- 'महाधिवेशन औपचारिक प्रक्रिया मात्र होइन , सङ्गठन निर्माणको आन्दोलन र अभियान हो ।'
उनले सङ्गठन निर्माणको जगमा पार्टीलाई राष्ट्रिय राजनीतिमा स्थापित गराउने दृढता व्यक्त गरे । काङ्ग्रेस र कम्युनिस्टको विकल्पको रूपमा राप्रपालाई अगाडि बढाउन देशभरका कार्यकर्ताको प्रतिबद्धता र मेहनतको जरुरी भएको त्यसमा तत्परतासाथ लाग्न उनले आग्रह गरे । सक्रिय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने विषयलाई नेताहरूले गम्भीरतासाथ लिई काम गर्न थापाको आग्रह थियो ।
कार्यक्रममा नेता दीपक बोहराले देशव्यापी रूपमा सङ्गठन सुदृढीकरण अभियानमा लाग्नुपर्नेमा जोड दिए । वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी र नेतृत्वप्रति चलाइएको भ्रम र घेराबन्दीलाई तोडेर अघि बढ्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा बागमती प्रदेशका तेह्र जिल्लाका तीन सय पाँच प्रतिनिधिको सहभागिता थियो । केन्द्रीय पदाधिकारी सदस्य, प्रदेश समिति, जिल्ला-नगर-क्षेत्र र गाउँ पालिका प्रमुख र जनवर्गीय सङ्गठनका प्रमुखहरूको सहभागिता रहेको कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष तोरणबहादुर गुरुङ र बागमती प्रदेश अध्यक्ष विक्रमबहादुर थापाले समेत बोलेका थिए ।