जेठ ०५, २०८१, शनिबार
               

सभामुखसँग भेट्न अनिच्छुक क्यानडाका सभामुखले भेटे राष्ट्रिय सभाका अध्यक्ष

नेपाल फ्ल्यास
माघ २७, २०७६

ADVERTISEMENT

सभामुख अग्नि सापकोटासँग भेट गर्न अनिच्छा देखाएका क्यानडाको उपल्लो सदन (सिनेट)का सभामुख जर्ज जे फ्युरीले सोमबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भने भेट गरेको छ । 

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा रहेका सभामुख फ्युरी नेतृत्वको प्रतिनिमण्डलले सोमबार सिंहदरबारमा उनीसँग भेट गरेको अध्यक्ष तिमिल्सिनाका सचार विज्ञ अशोक पौडेलले जानकारी दिएका छन् ।

भेटका क्रममा नेपाल र क्‍यानडाबीच कूटनीतिक सम्बन्ध, मित्रता, समझदारी, संसदीय सहकार्य लगायतका विषयमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्ध र सहकार्यलाई मजबुद बनाउन सहयोग पुर्‍याउने बताए ।

'दुई देशबीच संसदीय सम्बन्धमा यो अहिलेसम्मकै उच्चस्तरीय भ्रमण हो,' उनले भने, 'म आशा गर्दछु भविष्यमा दुवैतर्फबाट यस किसिमका भ्रमणहरुको निरन्तरता हुनेछ।'

उनले दुवै देशका संसद्मा संसदीय मैत्री समूह गठन भएकोमा खुसी व्यक्त पनि गरे । 'संसद् मैत्री समूहले दुई देशका संसदबीचको सम्बन्धलाई प्रबर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्,' उनले भने ।

अध्यक्ष तिमिल्सिनाले नेपाल राजनीतिक स्थिरताको अन्त्य गरी आर्थिक विकास र समृद्धि हासिल केन्द्रित रहेको पनि बताए । 'हामीले सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा स्तरोन्‍नति हुने लक्ष्य लिएका छौँ,'  उनले जानकारी दिए ।

भेटका क्रममा क्यानडाको उपल्लो सदन (सिनेट) सभामुख जर्ज जे फ्युरीले नेपालसँगको सम्बन्धलाई उच्च महत्वका साथ लिएको बताए ।
उनले नेपाल एकात्मक राज्य प्रणालीबाट सङ्घीय राज्य भएको बताउँदै यसका चुनौती बारे क्यानडा जानकार रहेको बताए । क्यानडा पनि सङ्घीय मुलुक भएको बताउँदै सभामुख फ्युरीले नेपालको विकासका लागि आफ्नो देशको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

'नेपालले पर्यटनलाई उच्च प्रथामिकता दिएको छ,' उनले भने, 'पर्यटनसँगै जलविद्युत, वायुउर्जा र सौर्य ऊर्जा विकासमा हाम्रो तर्फबाट सहयोग हुन्छ।'

सभामुख फ्युरी नेतृत्वको टोलीले सोमबार राष्ट्रिय सभा बैठकको अवलोकन तथा नेपाल-क्यानडा संसदीय मैत्री समूहबीच अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको छ।

त्यसै गरी मङ्गलवार प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग भेटघाट गरी स्वदेश फर्कनेछ । तर, उनले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटासँग भने भेट गर्न अनिच्छा देखाएका छन् । 

सापकोटामाथि २०६२ सालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि ज्यान लिएको आरोप छ। उनीविरुद्धको मुद्दा अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छ। उनलाई सभामुख बनाउने निर्णयप्रति असन्तुष्टि जनाउँदै ४ अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाले द्वन्द्वकालीन मुद्दाबारे अन्तर्राष्ट्रिय मञ्चमा जनाएका प्रतिबद्धताप्रति सरकार प्रतिबद्ध हुनुपर्ने बताएका थिए।


कस्तो लाग्यो ?

यो पनि