जेठ ०५, २०८१, शनिबार
               

काँग्रेसले आज पनि गर्‍यो संसद अवरुद्ध

नेपाल फ्ल्यास
माघ २४, २०७६

फाइल फोटो
ADVERTISEMENT

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले शुक्रबारको बैठक पनि अवरुद्ध गरेको छ ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारको छायामा परि पूर्वाग्रही भए निर्दोषलाई पक्रिएर दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै काँग्रेसले बैठक अवरुद्ध गरेको हो ।

बैठकमा समय लिएर बोल्दै सांसद मीन विश्वकर्माले अख्तियार दुरुपयोग गर्नुपर्ने अरू निकायको अध्ययन गर्नुपर्ने आयोगले आफ्नो अख्तियारको दुरुपयोग गरेको ठहर काँग्रेसले गरेको जनाए ।

सरकारको नियोजित कार्यक्रम भित्र रहेर अख्तियारले पूर्वाग्रही व्यवहार गरेको भन्दै उनले गम्भीर आपत्ति जनाए। न्याय निरूपण गर्ने निकायलाई नै छाँयामा पारेर सरकारले त्यसको कामलाई आफ्नो उपलब्धि भनेर व्याख्या गरेको उल्लेख गर्दै उनले सरकारको छाया बनेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  गरेको काम प्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताए ।

सरकारको नियोजित कार्यक्रमभित्र काँग्रेसका मान्छेलाई थुन्ने प्रपञ्च रचिएको आरोप सांसद विश्वकर्माले लगाए । 'यो कदम राजनीतिक प्रतिशोध छ कि छैन ? यो विभेदपूर्ण छ कि छैन ?' उनको प्रश्न थियो ।

सभामुखले बैठक प्रारम्भ भएको जनाउ दिने बित्तिकै काँग्रेसका सांसहरुले उभिएर विरोध जनाएका थिए । त्यसपछि बोल्ने समय पाएका सांसद विश्वकर्माले अख्तियारको विभेदकारी काम स्वीकार्न नसकिने भन्दै सदन सुचारु हुन नसक्ने जनाए ।

त्यसपछि काँग्रेस सांसदहरूले उभिएर विरोध जनाएपछि सभामुखले आधा घण्टाको लागि बैठक स्थगित गरेका थिए । काँग्रेसले बिहीबारको बैठक पनि अवरुद्ध गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि