जेठ ०५, २०८१, शनिबार
               

भ्रष्टाचार छानबिनमा भेदभाव भएको छैन : प्रवक्ता बास्कोटा

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । सरकारले ललिता निवासको जग्गा प्रकरण छानबिन देखि मुद्दा दायरसम्म कसैलाई विभेद नगरेको दाबी गरेको छ ।

मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ललिता निवास जग्गा प्रकरणको छानबिनमा “लाल फित्ताधारी र स्वेतफित्ताधारीको व्यवहार” नगरेको दाबी गरेका हुन् ।

विजयकुमार गच्छदारविरुद्धको कारबाही पुवर्गाग्रही भएको भन्ने संचारकर्मीको जिज्ञासामा उनले सरकारले कसैलाई पनि विभेद नगरेको बताए ।उनले बालुवाटारको जग्गा प्रकरणमा संलग्नताको आधारमा विभिन्न चरण चरणमा वर्गीकरण गरी सोही अनुसारको मुद्दा दायर गरिएको फेहरिस्त सुनाए ।

उनले भने- “बालुवाटारको घटना आज भएको होइन र सूचना प्राप्त भएपछि कारबाही थालेको हो । यसमा १ सय ७५ जनालाई मुद्दा चलाइएको छ । पहिलो श्रेणीमा सरकारी सेवा सुविधा लिएर निवासको जग्गालाई व्यक्तिको नाममा दर्ता गराउने कार्यमा संलग्न देखियो उनीहरू मुद्दा चलाइएको छ । जग्गाको धनी वा मोही दाबी गरेर सार्वजनिक जग्गा आफ्नो नाममा ल्याउनेहरूलाई सरकारी जग्गा आफ्नो नाममा ल्याएको अभियोग लगाइएको छ । त्यसैगरी आफ्नो स्वामित्व भएका ६५ जनालाई कीर्ते गरी व्यक्तिको नाममा ल्याएको जग्गा किन्नेलाई पनि मुद्दा दाबी गरिएको छ ।”

उनले अदालती प्रक्रिया सुरु भइसकेकाले अदालतको फैसलालाई सरकारले कार्यान्वयन गर्न स्पष्ट पारे । प्रक्रिया सुरु भएकाले अब अदालतमा जे फैसला गर्छ त्यो नै अन्तिम फैसला हुने उनको भनाइ थियो । दोषी ठहरिए कसैको पनि केही नलाग्ने टिप्पणी उनले गरे ।

मन्त्री बास्कोटाले कोरोना भाइरसको संक्रमण फैलिएको मुलुक चीनबाट ल्याउने नेपालीलाई काठमाडौँको शिवपुरी, इचंगुनारायण, सूर्यविनायक, खरिपाटीमा क्वारेन्टाइनस्थल बनाई सोही स्थानमा राख्ने तयारी सरकारले गरेको पनि जानकारी गराए ।

क्वारेन्टाइनस्थल बनाउनबारे प्रधानमन्त्रीले निर्देशन दिइसकेकाले चीनबाट ल्याएका नेपालीलाई राख्ने स्थानको प्रबन्ध मिलाइँदै गरिएको उल्लेख गर्दै तयारी पुरा भएपछि ल्याउने काम हुने भएकाले चीनमा रहेका नेपालीलाई धैर्यधारण र संयम अपनाउन उनले आग्रह गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि