सहिदः जसले देश र नागरिकको हीतमा आफ्नो जीवन अर्पण गर्दछ, समर्पण गर्दछ । यसर्थ संसारभर सहिदको सम्मान हुन्छ । तर, नेपालमा सहिद शब्दलाई नै बिकृत पारिएको छ । सहिदलाई उपेक्षा मात्रै होइन, अपमान गरिएको छ ।
केही राजनीतिक दलका ‘मरेका मान्छे’लाई सहिदको कोटामा राखिँदा खास सहिदको अपमान भएको छ । अहिले त सहिदको नाममा व्यापार भइरहेको छ । जसकारण सहिदको मर्म मरेको छ देशमा ।
सहिद हुनुमा गर्व हुन्थ्यो कुनै बेला । ज्यान आहुति दिएर देशको इज्जतका खातिर लड्नुमा शान थियो । आफ्नो ज्यानभन्दा देशको माया छातीमा राखेर हाँसीहाँसी बलिदानी दिएका खास चार वीर सहिदको अपमान भइरहेकै परिवेशबीच हरवर्ष माघ १६ गते सिर्फ औपचारिकताका लागि सहिद दिवस मनाइन्छ ।
तत्कालीन जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्रको उज्यालोका खातिर हाँसिहाँसी फाँसी चढ्न तयार भएका नेपालका खास चार सहिदः शक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको स्मृतिमा सहिद दिवस मनाउन थालिएको हो ।
पछिल्लो समय राजनीतिक दलैपिच्छेका सहिदको भीडमा खास चार सहिदको उपेक्षा भएको छ, सहिदको मर्ममाथि प्रहार गरिएकोको छ । त्यसैले त नेपालमा सहिदको सम्मान खिइरहेको छ । कमजोर भएको छ । सहिद भन्नुमा खास ओजिलो गर्व छैन ।
तत्कालीन नेकपा माओवादीले संचालन गरेको सशस्त्र द्वन्द्वमा १३ हजारको ज्यान गएको भनिएको छ । जसमध्ये उसले करिब ८ हजारलाई सहिदको कोटीमा राखेको छ । २०६३, ०६३ को आन्दोलनमा मारिका २५ जनालाई राज्यले नै सहिद भनेर घोषणा गरेको छ । संविधानसभा चुनावअघि मधेसमा चर्किएको आन्दोलनमा मारिएका ५३ जनालाई मधेसवादी दलले सहिद भएको दाबी गरिरहेका छन् ।
२०४६ सालको जनआन्दोलनमा ४५ जना र २००७ सालको आन्दोलनमा मारिएका ४ जनालाई राज्यले नै सहिद घोषणा गरिसकेको छ । त्यसबाहेक राजनीतिक दलका गुट–गुटबीचको झगडामा परेर मारिएकालाई समेत सहिद घोषणा गरिएको टिठलाग्दो सत्य छ । यतिसम्म कि सहिद घोषणा गरिएकाको फेरिहस्ता नै बेबारिस छ । सरकारसँग नै सहिदको आधिकारिक सूची छैन ।
जब औसत र सामान्य मृत्युलाई पनि सहिदको संज्ञा दिन थालियो, तब सहिदको मर्यादामाथिको प्रहार सुरु भयो । र, सहिद पनि सक्कली र नक्कली छुट्याउनु पर्ने स्थिति आएको छ । देश र जनताका निम्ति लड्दालड्दै ज्यानको आहुति दिएका वास्तविक सहिदहरुप्रति भन्दा जातजाति र वर्गीय सहिदप्रतिको सम्मान बढी खोजिन थालिएको छ । जुन खास सहिदमाथिको खेडबाड र मजाक हो ।
जसलाई मृत्युपर्यन्त साराले सम्मान गरोस्, पूजा गर्न सकोस्, सत्तापक्ष र प्रतिपक्षको समेत एकै आवाज गुन्जियोस् । अनि पो सहिद । अनि पो अमर मृत्यु ।
नेपाल यस्तो देश हो, जहाँ मरेको मान्छेलाई सहिद घोषणा गर्न जबर्जस्त राजनीति गरिन्छ । यो वा त्यो दल र गुटउपगुटमा लागेको ब्यक्ति घरायसी कारण वा गुटगत कारणले म¥यो भने पनि उसलाई सहिद घोषणा गर्न लगाएर राज्य कोषबाट जबर्जस्त दश लाख क्षतिपूर्ति भराइन्छ । मानौंः दश लाखका निम्ति नै मान्छे मर्छ र दश लाखकै निम्ति सहिद बन्छ । देशले सम्मान गरोस् वा नगरोस् ! जनताले उसलाई सहिद सम्झिउन् वा नसम्झुन् ? मनलाग्दी सहिद बनाउनेमा कुनै दल चोखा छैनन् ।
हुनतः सहिद घोषणाका लागि कुनै कानूनी प्रावधान हुँदैन । तर, यसका केही खास मापदण्ड र मान्यताहरु भने अवश्य हुन्छन् । यहाँ त मान्यता र मापदण्डमाथि नै प्रहार गरिएको छ ।
निश्चित मापदण्डको खाँचो
औसत मृत्युलाई पनि सहिद भनेर खास सहिदको मर्ममाथि कठोर प्रहार भइरहेको यथार्थबीच सहिद घोषणाको मापदण्डका विषयमा पनि बहस भएको हो । इतिहासका जानकारले यस विषयमा बारम्बार कुरा उठाए पनि व्यवहारतः लागू हुन सकेको छैन ।
सहिदको परिभाषा र मापदण्ड अहिलेका राजनीतिक दलहरुको ब्यवहारले देखाएजस्तो होइन । नेपाली शब्दसागरका अनुसार कुनैपनि शुभ परिणामका निम्ति लाग्दालाग्दै प्राण गुमाउने ब्यक्ति, देश, जाति र जनताको सुखका निम्ति संघर्ष गर्दागर्दै मरेको व्यक्ति नै सहिद हो । तर यो परिभाषा सिर्फ शब्दकोषमा लिपीबद्ध छ । ब्यवहारतः लागू भएको छैन । सहिद शब्द दश लाख रुपियाँको व्यापार जस्तै बन्न थालेको छ ।
राजनीतिक दलले जथाभावी सहिद घोषणा गर्न थालेपछि सहिदहरुलाई पनि सामान्य सहिद र आदर्श सहिदका रुपमा वर्गीकरण गरेर हेर्नुपर्ने बेला आएको छ ।
आदर्श र लक्ष्यका साथ लड्दालड्दै, मारिँदै छु भन्ने थाहा पाउँदा–पाउँदै निर्भीक भएर मृत्युवरण गरेकालाई सहिद भनिनु पर्ने हो । जसलाई मृत्युपर्यन्त साराले सम्मान गरोस्, पूजा गर्न सकोस्, सत्तापक्ष र प्रतिपक्षको समेत एकै आवाज गुन्जियोस् । अनि पो सहिद । अनि पो अमर मृत्यु ।
देशको यूगिन परिवर्तनका लागि आफ्नो ज्यान आहुती दिएका वीरहरुः जसको मृत्यु नै अमर छ र जसको शरीरबाट चुहिएको थोपाथोपा रगतले परिवर्तनको इतिहास लेखिएको छ । जहानियाँ राणाकालको एकतन्त्र शासन भत्काउन हाँसीहाँसी फाँसी स्वीकार गरेका चार आदर्श सपुतलाई यो देशले खास सहिदको रुपमा मान्दै आएको छ । तर, पछिल्ला दिनहरुमा सहिदको नाउँमा यो देशमा जे भइरहेछ त्यसले विस्तारै–विस्तारै नेपाली स्वाभिमानलाई नै धुमिल बनाउदै लगेको छ ।
दलहरुले आफूखुसी सहिद बनाउँदै लगेका कारण देशमा सहिदको संख्या कति पूग्यो ? यकिन तथ्याङ्क छैन । यसर्थ सहिद घोषणाका लागि खास मापदण्ड तोकिनुपछ ।