जेठ ०५, २०८१, शनिबार
               

नेकपाको बन्धक बनेको प्रतिनिधिसभा बैठक आज बस्दै

नेपाल फ्ल्यास
पुस २७, २०७६

ADVERTISEMENT

काठमाडौं : सत्तासीन नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाउँदा बन्धक जस्तै बनेको प्रतिनिधिसभा बैठक आज आइतबार बस्ने कार्यक्रम छ ।

बैठक दिउँसो १ बजे बोलाइए पनि अहिलेसम्म सत्तासीन दलभित्र सभामुख चयनमा सहमति हुन सकेको छैन । सोही कारण आजको बैठकबारे पनि अन्योल छ । 

सभामुख निर्वाचनको कार्यतालिका तय गर्ने योजना भए पनि बैठक बस्नेबारे नै अन्योल छ । 

पुस ४ गते सुरु भएको संसद अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा शोक प्रस्ताव पारित मात्र भयो । त्यसपछि बैठक ११ गते बेलाइयो । त्यो बैठक सूचना टाँसेर स्थगित गरियो । १६ गते बोलाइएको बैठक पनि सूचना टाँसेरै स्थगित गरियो । आजको बैठकबारे पनि अझै अन्योल छ ।

नेकपा सचिवालयको बैठकले हिजो उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न निर्देशन दिएको थियो । तर सभामुखको उम्मेदवारबारे भने नेकपामा अझै टुंगो लागेको छैन ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहन्छन् । अध्यक्ष पुष्पकमल दाहाल स्थायी समिति सदस्य अग्नि सापकोटाको पक्षमा छन् ।

सभामुख पूर्वमाओवादीले पाएको कारण यसपटक पनि पूर्वमाओवादीबाटै हुनुपर्ने अडान अध्यक्ष दाहालको छ । 

आज बैठक बसेमा प्रधानमन्त्री केपी शर्मा ओलीकातर्फबाट कुनै मन्त्रीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन २०७६ पेश गर्ने छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले रेल्वे विधेयक २०७६ छलफलका लागि पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।  


कस्तो लाग्यो ?

यो पनि