जेठ ०५, २०८१, शनिबार
               

लचक भएका देउवा असन्तुष्ट पक्ष सहमतिमा नआए कठोर बन्ने

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू पार्टीलाई एक बनाउन तयार रहेको तर अरूले निहुँ खोज्न थाले ‘नछाड्‌ने’ बताएका छन्।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरलाई लक्षित गर्दै निहुँ खोज्दै गए महाधिवेशनसमेत तोकिएको समयमा नगर्ने चेतावनी दिएका छन्।

पार्टीमा चर्केको विवाद निरूपणका लागि आग्रह गर्न प्रजातान्त्रिक विचार समाजका पदाधिकारी शुक्रबार देउवाकहाँ पुगेका थिए। त्यस क्रममा पौडेलले विधानविपरीत जिल्ला सभापतिहरूको भेला बोलाएको भन्दै देउवाले असन्तुष्टि जनाएका थिए।

‘हारेको सभापति (पौडेल)ले बोलाएको भेला वैध छ ?’ उनले भने, ‘म एकोहोरो खालको मान्छे हो। यो नेचर कसैले भनेर परिवर्तन हुन्छ र?’ 

सभापति देउवाले सबैलाई समेटेर लैजान खोज्दाखोज्दै काम गर्न नदिइएको गुनासोसमेत गरेका छन्। पुस ११ को केन्द्रीय कार्यसमिति बैठकले पौडेल र कृष्णप्रसाद सिटौला पक्षको बहिष्कारका बीच महाधिवेशनको कार्यतालिका, कार्यविधि, केन्द्रीय कार्यसमिति र तरुण दलको म्याद थप, विभागको संख्या थप र विधानका केही दफा निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक तिक्तता चुलिएको छ।  यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

कांग्रेसको महाधिवेशन ०७७ फागुन ७–१० गते हुने गरी तालिका ल्याइएको छ। देउवाले समाजसँग विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन फोरम लोकतान्त्रिक पार्टीसँगको एकीकरणका कारण कार्यकाल अझै लम्ब्याउन सकिने स्थिति रहेको पनि बताए। ‘तर, म त्यसो गर्दिनँ,’ उनले भने ।

देउवाले पुस ११ गते सहमतिकै आधारमा निर्णय भएको दाबी गरे।

‘धेरै विषयमा सहमति भएको थियो। बैठकमा आएर सहमति नभएका विषयमा फरक मत लेखेको भए हुन्थ्यो तर बैठकमा नआएपछि मलाई दुःख लागेको छ,’ उनले समाजको टोलीसँग दुःखेसो पोखेका थिए। समाजका अध्यक्ष केदारनरसिंह केसीको नेतृत्वमा गएको टोलीले सरकारका निरंकुश कदमविरुद्ध सडक संघर्ष गर्न सुझाउँदा देउवाले ‘सडकमा गए पनि साथीहरूले विरोध गर्छन्, तपाईंहरूले पनि साथ दिने होइन, मेरो विरोध गर्ने त हो’ भन्ने जवाफ दिएका थिए।


कस्तो लाग्यो ?

यो पनि