जेठ ०५, २०८१, शनिबार
               

अहिलेको व्यवस्था परिवर्तन हुन सक्छ : कमल थापा

नेपाल फ्ल्यास
पुस २५, २०७६

ADVERTISEMENT

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था परिवर्तन हुने सङ्केत गरेका छन् ।

भक्तपुरमा शुक्रवार भएको कार्यक्रममा अध्यक्ष थापाले के कस्तो परिवर्तन हुने भन्नेमा स्पष्ट नगरे पनि अहिलेको व्यवस्था परिवर्तन हुन सक्ने बताए ।

अध्यक्ष थापाले भने- जनताले चाहेमा अहिलेको व्यवस्था परिवर्तन हुन्छ । 

पार्टीको भक्तपुर जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा उनले संविधानले दिएको अधिकारको प्रयोग गर्दै जनताको साथ र बलमा पार्टीको एजेन्डा स्थापित गर्ने बाटोमा कृयाशिल हुन कार्यकर्तालाई निर्देशन दिए । 

गएको उपनिर्वाचनमा उल्लेख्य मत नपाए पनि राप्रपाले अवलम्बन गरेको विचारको सन्देश जनताको घर दैलोमा पुगेको भन्दै थापाले पार्टी कठिन र लामो यात्रामा अघि बढेको बताए । 

राप्रपाले हिँड्न खोजेको बाटो सजिलो नभए पनि त्यो सम्भव रहेको तर्क उनले गरे । 

संविधान निर्माणका समयमा राजसंस्था र हिन्दुराष्ट्र लेखाउन नसके पनि ती कुराहरू ल्याउने बाटो र अधिकार सुनिश्चित राप्रपाकै कारण भएको दाबी अध्यक्ष थापाले गरे । 

संवैधानिक व्यवस्थाबाटै जनताको मन जितेर एजेन्डा स्थापित गर्ने अवस्थाको सदुपयोग गर्न सङ्गठन र जनता केन्द्रित हुनुपर्नेमा उनको जोड थियो । 

बेरोजगारी, भ्रष्टाचार र हिन्दुत्वको अभियान बोकेर पार्टी आगामी दिनमा सङ्गठन निर्माण, जनसंघर्ष र जनपरिचालन अभियानमा होमिने योजना उनले सुनाए । 

कार्यक्रममा राप्रपा उपाध्यक्ष टंक ढकाल, सहायक महामन्त्री राजाराम बर्तौला, केन्द्रीय सदस्यद्वय युवती कार्की, नरगोविन्द शंखदेबलगायत सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि