जेठ ०५, २०८१, शनिबार
               

अर्थमन्त्री बन्छन् त नारायणकाजी ?

नेपाल फ्ल्यास
पुस २५, २०७६

ADVERTISEMENT

काठमाडौँ । राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने निर्णयसँगै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई सरकारमा जाने बाटो खुलेको छ ।

यो सुविधाका लागि भने अझै करिब दुई महिना कुर्नु पर्ने छ । प्रवक्ता श्रेष्ठ निर्वाचित हुनेमा शङ्का छैन । तर माघ ९ गते निर्वाचन भए पनि आगामी फागुन २० गतेपछिमात्र पदमा बहाल हुने छन् ।

उनको पद बहालीसँगै अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रियसभा सदस्यबाट बाहिरिने छन् । राष्ट्रियसभा गठनको पहिलो चरणमा गोला प्रथाबाट दुई, चार र छ वर्ष कार्यकाल तोकिँदा उनी दुई वर्षमा परेका थिए ।

त्यसैले अर्थमन्त्री पद फागुन २० देखि रिक्त हुने छ । त्यसपछि प्रवक्ता श्रेष्ठ अर्थमन्त्री बन्ने अनुमान धेरैको छ । यो योजना सफल भएमा नेकपाभित्रको शक्ति सन्तुलनमा प्रधानमन्त्री केपी शर्मा ओली बलियो हुने छ ।

बहालवाला अर्थमन्त्रीलाई दोहोर्‍याउने एउटा बाटो भने प्रधानमन्त्री ओलीसँग जीवितै छ । 

राष्ट्रियसभामा रिक्त हुने १९ स्थानमध्ये १८ वटामा निर्वाचन हुँदै छ । एक स्थान भने राष्ट्रपतिबाट मनोनीत हुने छ । 

दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौड्याललाई मनोनीत गरेकी थिइन् । त्यसमध्ये खतिवडाको कार्यकाल सकिन लागेको हो ।

प्रधानमन्त्रीले खतिवडालाई अर्थमन्त्रीको रूपमा निरन्तरता दिन चाहेमा उनैलाई मनोनीत गरिने छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा मनोनीत गर्ने संवैधानिक प्रावधान छ ।

नेकपा उच्च स्रोतहरूका अनुसार नारायणकाजीलाई अर्थमन्त्री बनाउनेमा ढुक्क हुन नसकिए पनि प्रधानमन्त्री ओली खतिवडालाई निरन्तरता दिने पक्षमा छैनन् ।


कस्तो लाग्यो ?

यो पनि