जेठ ०५, २०८१, शनिबार
               

बामदेवले मानेनन्, नारायणकाजीले उपप्रधानमन्त्रीको बाटो खोले

नेपाल फ्ल्यास
पुस १८, २०७६

ADVERTISEMENT

काठमाडौं । गत आम निर्वाचनमा पराजित बामदेव गौतमले राष्ट्रियसभामा जान नमान्दा गोरखामा बाबुराम भट्टराईसँग पराजित नारायणकाजी श्रेष्ठले भने उम्मेदवार बनी मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको यात्राको संभावना जिवन्त राखेका छन् ।

नेकपा सचिवालय शुक्रबारको बैठकले राष्ट्रियसभाका लागि उम्मेदवार तय गरेको हो । त्यसमा श्रेष्ठ पनि परेका छन् ।

प्रभावशाली नेता गौतमले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान स‌ंशोधन गरेमात्र उम्मेदवार बन्ने बताएका थिए । त्यसका लागि सचिवालय तयार नदेखिएपछि गौतम उम्मेदवार नबनेका हुन् ।

प्रमुख सत्तारुढ दल नेकपाका प्रवक्ता श्रेष्ठसहितको उम्मेदवार सूची पारित गरेको हो ।

श्रेष्ठ प्रतिनिधिसभा निर्वाचनमा गोरखा २ बाट पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पराजित भएका थिए ।

कांग्रेससँगको गठबन्धनमा उम्मेदवार बनेका भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गरेका थिए भने तत्कालीन वाम गठबन्धनका श्रेष्ठले २४ हजार ९३३ मत पाएका थिए ।

राष्ट्रियसभामा निर्वाचित भएपछि प्रतिनिधिसभामा जनताबाट अस्वीकृत श्रेष्ठले राष्ट्रियसभा सदस्यको रुपमा ६ वर्ष बिताउने छन् ।

प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालय बैठकले बेदुराम भुसाललाई पनि उम्मेदवार बनाएको छ ।

सचिवालय बैठकले इन्दु गौतम, देवेन्द्र दाहाल, गोपी अछामी, तुलसा दाहाल, राधेश्याम पासवान, गंगा बेलवासे, भगवती न्यौपाने, विमला घिमिरे, गोपाल भट्टराई, जगप्रसाद शर्मा, सुमित्रा बिसी, मायाप्रसाद आचार्य, तारामान स्वाँर र शारदा भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रियसभाको पहिलो निर्वाचनपछि भने गोलाप्रथाबाट १९ सांसदको २ वर्ष, २० जनाको  ४ वर्ष र अन्य २० जनाको ६ वर्ष कार्यकाल तोकिएको थियो । अब निर्वाचित सांसदको कार्यकाल ६ वर्ष नै हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि