बैशाख २२, २०८१, शनिबार
               

यसरी भयो भीम रावल र विष्णु पौडेलबीच चर्काचर्की

नेपाल फ्ल्यास
पुस ०७, २०७६

ADVERTISEMENT

काठमाडौं । एक साता चलेको नेकपा स्थायी कमिटी बैठक चर्काचर्कीबीच आइतबार सकिएको छ। अन्तिम दिन अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको संयुक्त राजीतिक प्रतिवेदन पारित गर्ने क्रममा कडै भनाभन चल्यो।

त्यसअघि झन्डै पूरै बैठक अवधि अमेरिकी सहयोगको परियोजना मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) अनुमोदनबारे झगडामा केन्द्रित रह्यो। एमसीसीबारे निर्णय भने अब सचिवालयले गर्ने भएको छ।

राजनीतिक प्रतिवेदन पारित गर्न प्रस्ताव गर्ने बेला महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य भीम रावलबीच चर्काचर्की परेको थियो। अध्यक्ष दाहालले प्रतिवेदन सुझाव समेटेर परिमार्जन गर्ने भन्दै पारित गर्न प्रस्ताव गरेका थिए।

‘हामी विशिष्ट परिस्थितिबाट गुज्रिरहेका छौं। यसमा कुनै बनिबनाउ बाटो छैन। त्यही आधारमा यो प्रतिवेदन तयार भएको हो’, उनले प्रतिवेदन पारित गर्न आग्रह गर्दै प्रस्ताव राखेका थिए, ‘तपाईंहरूका कतिपय सुझाव राम्रा छन्, ती सुझावसहित परिमार्जन गर्ने गरी प्रतिवेदन पारित गर्न म प्रस्ताव गर्छु।’

प्रतिवेदन पारित पनि भयो। त्यसपछि उठेर बोल्न थाले स्थायी समिति सदस्य रावल। ‘यसमा मेरो फरक मत छ। प्रतिवेदनमा एमसीसीबारे प्रस्टता छैन। पार्टीको विधि र विधानका विषयमा प्रस्टता हुनुपर्‍यो’, उनले भने, ‘यसकारण पार्टीको यो प्रतिवेदनमा मेरो फरक मत छ।’

उनले १० पृष्ठको लिखित फरक मत बैठकमा देखाए । त्यसपछि केही बेर रावल र महासचिव पौडेलबीच चर्काचर्की परेको एक नेताले बताए।

‘पार्टीले निर्णय गरेको छैन। निर्णय नगरीकनै तपाई कसरी १० पृष्ठको लिखित फरक मत लिएर आउनुभयो? जेमा पनि यसरी फरक मत भन्ने हुन्छ ?’, पौडेलले भने, ‘यो तपाईले अहिले लेखेको हो ? यही हो विधि र प्रक्रिया ? फरक मत राख्न पाइँदैन भन्ने होइन, पाइन्छ। निर्णय भयो भन्नेबित्तिकै मान्दिनँ भन्ने हो ? (तयारी) फरक मत ल्याएको छु भन्ने ?’

त्यसपछि दाहालले हस्तक्षेप गरे। ‘तपाईंहरूका सुझाव आएका छन्, त्यसलाई ग्रहण गरेर प्रतिवेदन परिमार्जन गर्ने कुरा नेतृत्वका तर्फबाट मैले विश्वास दिलाइरहेको छु। सीमा समस्याका विषयमा पार्टीले अडान लिएकै छ’, उनले भने, ‘कतिपय विषयमा तपाईंका कुराहरू छलफल हुँदै पनि जान्छन्। केन्द्रीय कमिटी बैठक बस्दै छ। त्यसमा पनि छलफल हुन्छ। यो बेला फरक मत छ भनेर दर्ज गर्दा त्यसले पार्टीलाई हित गर्छ ? त्यसैले म तपाईं (रावल) लाई गम्भीरतापूर्वक आग्रह गर्दै छु– फरक मत फिर्ता लिनुहोस्।’ दाहाल बोलेपछि रावलले फरक मत फिर्ता लिएको घोषणा गरेको एक नेताले बताए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ।


कस्तो लाग्यो ?

यो पनि