जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचन : शीर्ष नेताले नै गरे आचारसंहिता उल्लंघन

नेपाल फ्ल्यास
मंसिर ११, २०७६

ADVERTISEMENT

बाग्लुङ : निर्वाचन आचारसंहिताले प्रचारका काममा हेलिकप्टर प्रयोगमा रोक लगाएको छ । तर यहाँ हुन लागेको प्रदेशसभा निर्वाचनमा नेताहरूले त्यसको उल्लंघन गरेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल, कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले हेलिकप्टर प्रयोग गरेका हुन् ।
नेकपाले बुर्तिवाङमा शनिबार आयोजना गरेको आमसभा र कांग्रेसले निसीखोलामा आइतबार गरेको आमसभामा शीर्ष नेता हेलिकप्टरमा आएका थिए । उनीहरूले चढेको हेलिकप्टर खर्च कसले बेहोरेको भन्ने खुलेको छैन । तर जसले बेहोरे पनि त्यो आचारसंहिताविपरीत भएको निर्वाचन अनुगमनकर्ता सिर्जना पन्तले बताएको कान्तिपुर दैनिकमा खबर छ । हेलिकप्टर ल्याउन लागेको थाहा पाएपछि जिल्लाका सुरक्षा अधिकारीले शीर्ष नेतालाई निर्वाचन आचारसंहिताविपरीत हुने बताएका थिए ।

त्यसपछि नेताहरू छिमेकी जिल्लामा हेलिकप्टर ल्यान्ड गराएर मोटर चढेर कार्यक्रमस्थल पुगेका थिए । ‘हामीले आचारसंहिताको विषय हो भनेर सम्झाउन खोज्यौं, तर उहाँहरूले हामीप्रति नकारात्मक सोच्नुभयो,’ एक सुरक्षा अधिकारीले भने । यसअघि उम्मेदवारी फिर्ता गर्ने दिन पनि स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले हेलिकप्टर प्रयोग गरेका थिए । हेलिकप्टर चढेर सदरमुकाम आएका घर्तीले उम्मेदवारी भने फिर्ता लिएनन् ।
 


कस्तो लाग्यो ?

यो पनि