जेठ ०५, २०८१, शनिबार
               

अन्ततः मन्त्रालयको जिम्मेवारीमा फर्किए यादव

नेपाल फ्ल्यास
मंसिर १०, २०७६

ADVERTISEMENT

काठमाडौं : सरकार छाड्ने चर्चापछि अन्नततः समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मन्त्रालयको जिम्मेवारी सम्हाल्न फर्किएका छन् । आफूले सरकार छाड्दा राजपा सरकारमा जाने भयले यादव सिंहदरबार फर्किएका हुन् ।  

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेर गरेको चार दिनपछि सोमबार उपप्रधानमन्त्री  यादवले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । सल्लाह नगरी मन्त्रालय हरेफेर गरिएको भन्दै समाजवादी पार्टीले औपचारिक रूपमा आपत्ति जनाए पनि पार्टी अध्यक्षसमेत रहेका यादवले नयाँ तोकिएको मन्त्रालयको कार्यभार सम्हालेका हुन् । यसअघि उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

पार्टीका अधिकांश नेताले सरकारबाट बाहिरिन सुझाए पनि यादवले संविधान संशोधनको मुद्दा अघि बढाउन र नेकपा–राजपाबीच हुन सक्ने गठबन्धन रोक्न तत्कालका लागि सरकार छाड्न नहुने विश्लेषणसहित नयाँ मन्त्रालय सम्हालेका हुन् । उनकै विश्लेषणका आधारमा समाजवादीको शनिबारको बैठकले सरकारमै रहेर नेकपासँग वार्ता गर्ने निर्णय गरेको थियो ।

आफ्नै निजी गाडी चढेर मन्त्रालय गएका यादवले आफूसँग सल्लाह नगरी मन्त्रालय परिवर्तन गरेको विषयलाई त्यति महत्त्व दिएनन् । ‘परामर्श गरिराख्नुपर्दैन, यो सामान्य विषय हो, प्रधानमन्त्रीले गर्न सक्छन्’, उनले हांँस्दै भने, ‘मन्त्रालयहरू हेरफेर गर्ने उहाँको अधिकार हो । अनुभवी नेता मन्त्री बनोस् भनेर यहाँ पठाएको हुन सक्छ । मिल्ने मन्त्रालयमा पठाइदिऊँ भनेर पनि हुन सक्छ । उहाँले बढी नै माया गरेको पनि हुन सक्छ ।’

अहिले नै सरकार छोडिहाल्ने निर्णय पार्टीले नगरेको उनले स्पष्ट पारेको कान्तिपुर दैनिकमा खबर छ । आफूलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको विषयलाई उनले संविधान संशोधनसँग पनि जोड्न खोजे । समाजवादीले संविधान संशोधनका विषयमा सहमति गर्दै नेकपासँग सत्ता–सहयात्रा गरेकाले अब त्यो सहमति कार्यान्वयन गर्ने अवसर आएको उनले बताए । 


कस्तो लाग्यो ?

यो पनि