जेठ ०५, २०८१, शनिबार
               

मन्त्रिपरिषद् हेरफेरबाट समाजवादी पार्टी रूष्ट, सरकार छाड्ने संकेत

नेपाल फ्ल्यास
मंसिर ०५, २०७६

ADVERTISEMENT


काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद हेरफेरप्रति असन्तुष्टि जनाउँदै समाजवादी पार्टीले फेरि सरकार छाड्ने सक्ने संकेत दिएको छ। समाजवादीबाट सहरी विकासमन्त्री रहेका मोहम्मद इस्तियाक राईले अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव  दिल्लीबाट फर्केपछि यसबारे छिट्टै निर्णयमा पुगने बताए।

बुधबार मन्त्रीपरिषद् हेरफेर गर्दा प्रधानमन्त्री ओलीले यादवको जिम्मेवारी पनि हेरफेर गरेका छन् भने सो पार्टीका एक राज्यमन्त्रीलाई हटाएका छन्। बुधबार काठमाडौंमा मन्त्रिपरिषद हेरफेर हुँदै गर्दा उपप्रधानमन्त्री उपेन्द्र यादव दिल्लीमा भाजपाका महासचिव राम माधवसँग भेटवार्ता गर्दै थिए।

‘पार्टीले यसअघि नै सरकारमा बस्ने वा नबस्ने विषयमा निर्णय गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ, अब के आधारमा सरकारमा बसिरहने वा किन हट्ने भन्ने निर्णय गर्नु हुनेछ’, राईले भने, ‘म गृहजिल्ला बाँकेमा छु, अध्यक्ष यादव कार्यक्रममा सहभागी हुन दिल्ली जानु भएकाले मेरो सम्पर्क हुन सकेको छैन।’

मन्त्रिपरिषद हेरफेर हुँदा यादवले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालयमा नेकपाका भानुभक्त ढकाललाई ल्याइएको छ भने यादवलाई कम आकर्षक मानिने कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रीको जिम्मेवारी दिएको छ। स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवलाई हटाइएको छ। यादव वीर अस्पतालमा उपचारत भर्ना भएका छन् ।

समाजवादी पार्टीभित्र सरकार छाड्ने विषयमा विवाद रहँदै आएको थियो। पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले एकीकरणदेखि नै सरकार छाड्नु पर्ने दबाब यादवमाथि दिँदै आएका छन्। सरकार गठन हुँदा भएको सहमति अनुसार संविधान संशोधन नगरे सरकार छाड्ने बताउँदै आएको समाजवादी पार्टीले त्यसका समयसीमा बढाउँदै लगेको थियो। पछिल्लो समयमा प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच सम्बन्ध राम्रो नरहेको चर्चा भइरहेको छ।

यसअघि प्रदेश प्रमुखहरुको परिवर्तन गरिँदा कुनै परामर्श नगरेको भन्दै असन्तुष्ट रहेको सत्ता साझेदार समाजवादी पार्टीले त्यस निर्णयविरुद्ध विज्ञप्ति नै निकालेको थियो। सत्ता सञ्चालन गर्ने दलले ठूलो निर्णय गर्दा परामर्श नगरेको भन्दै सरकार छाड्नु पर्ने विषय त्यसबेला झन् उठेको थियो। तर, गत साता मात्रै सम्पन्न पार्टीको केन्द्रीय समितिको बैठकले सरकारमै रहेर संघर्ष गर्ने निर्णय गरेको थियो। यादवले आवश्यक परे मंसिर १४ मा हुने उपनिर्वाचनपछि सरकार छाड्ने बताएका थिए।

‘अध्यक्ष यादव दिल्लीमा रहेका बेला मन्त्रिपरिषद हेरफेरको विषयमा जुन निर्णय भयो त्यो अपमानपूर्ण छ’, समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वद्वीप पाण्डेले भने, ‘बाबुराम सर पनि गृह जिल्लातर्फ जानु भएकाले सम्पर्क हुन सकेको छैन।’


कस्तो लाग्यो ?

यो पनि