जेठ ०५, २०८१, शनिबार
               

बीनामा अड्कियो मन्त्रिपरिषद् हेरफेरको हलो !

नेपाल फ्ल्यास
मंसिर ०२, २०७६

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् हेरफेरको तयारीमा छन् तर त्यो सकिरहेका छैनन् । नेपाल प्रधानमन्त्रीय पद्धतिमा चलेको छ र धेरैको बुझाइमा प्रधानमन्त्री ओली आफूले चाहेको निर्णय निर्धक्क साथ गर्न सक्छन् । 

तर समय सदैव एकनास हुँदो रहेनछ । अहिले उनले चाहेर पनि मन्त्रिपरिषद् हेरफेर गर्न सकिरहेका छैनन् । कारण हो नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको सहमति । 

प्रधानमन्त्री ओली खानेपानीमन्त्री बीना मगरको कामसँग सन्तुष्ट छैनन् । प्रधानमन्त्री ओली मन्त्री मगरलाई हटाउन चाहन्छन् तर अर्का अध्यक्ष दाहालको त्यसमा सहमति छैन । आफ्नी बुहारी बीनालाई कसैगरी पनि मन्त्रिपरिषद्‍मा टिकाउनु पर्ने भएकोले सरकार हेरफेरबारे दुई अध्यक्षबीच सहमति नभएको सरकारका एक मन्त्रीले नेपाल फ्ल्यासलाई बताए । 

यसै गरी नेकपा अध्यक्ष दाहाल गृहमन्त्री रामबहादुर थापालाई हटाउन चाहन्छन् । दुई अध्यक्षको खटपट हुँदा मौन बसेर ओलीलाई सहयोग पुर्‍याएको दाहालको बुझाइ छ । सोही कारण हेरफेरको घानमा थापालाई पिस्ने दाहालको चाहना रहेको पूर्वमाओवादी नेताको दाबी छ । 

त्यसो त प्रधानमन्त्री ओली उपप्रधान एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग पनि सन्तुष्ट छैनन् । 

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई हटाउने चाहना प्रधानमन्त्रीको छ । भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कृषि तथा पशुपंक्षीमन्त्री चक्रपाणि खनाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा डेन्जर जोनमा रहेको बालुवाटार स्रोतको दाबी छ ।

हेरफेरपछि मन्त्रिपरिषद्‍मा थपिन सक्ने केही नाम पनि चर्चामा आएका छन् । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका भीम रावल पनि पोर्टफोलियो मिलेमा सरकारमा जाने सम्भावना छ । पूर्वमाओवादी नेता जनार्दन शर्मा पनि मन्त्री बन्ने सूचिको अग्रपंतिमा छन् ।

त्यसै गरी सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, देवेन्द्र पौडेलको नाम पनि चर्चामा छ ।

थपिन सक्ने अनुहारमा अग्नि सापकोटा, छविलाल विश्वकर्मा, पम्फा भुसाल, रामेश्वर यादव र कृष्णगोपाल श्रेष्ठ रहेको स्रोतको दाबी छ ।


कस्तो लाग्यो ?

यो पनि