जेठ ०५, २०८१, शनिबार
               

ओली-प्रचण्ड : दैनिक वार्ता, निष्कर्ष कम

नेपाल फ्ल्यास
मंसिर ०१, २०७६

ADVERTISEMENT

काठमाडौँ : नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दैनिकजसो वार्ता गर्छन् । तर, उनीहरूको वार्ता निष्कर्षमा पुग्न निक्कै मुस्किल छ । यसको उदाहरणको रूपमा मन्त्रिपरिषद्को हेरफेर र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिने चर्चालाई लिन सकिन्छ । यो विषयमा दुई अध्यक्षबीच लामै छलफल भयो । तर, अहिलेसम्म नतिजा आउन सकेको छैन । उनीहरूकै भाषामा– एउटा जेटका दुई पाइलट, ओली-प्रचण्ड

सरकारको समेत नेतृत्व गरिरहेको पार्टीका यी दुई अध्यक्षबीच हरेक दिनजसो भेटघाट हुन्छ। सरकार, पार्टी र अन्य महत्त्वपूर्ण विषयमा छलफल हुन्छ। तैपनि उनीहरूबीच विश्वासको वातावरण बन्न सकेको देखिँदैन

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको १७ महिना तथा ओलीको नेतृत्वमा सरकार गठन भएको २० महिना भइसक्दासमेत यी दुई नेताको मन र मत मिल्न नसकेकै कारण केही महत्त्वपूर्ण निर्णयमा ढिलाइ हुने गरेको छ। कहिलेकाहीँ त दैनिकजसो हुने घन्टौं लामो संवादबाट पनि निकास निस्कन नसकेको विगत छ। पार्टी एकीकरण घोषणा गर्दा तीन महिनामा सक्ने भनिएको सांगठनिक एकीकरण १७ महिना पूरा हुँदा पनि टुंगिएको छैन

पछिल्लोपटक मन्त्रिपरिषद् हेरफेर, सभामुख चयन, स्थायी कमिटी बैठक आह्वान, संवैधानिक आयोगहरू, सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्तिलगायत विषयमा दुई नेताको कुरा नमिलेको कान्तिपुर दैनिकमा खबर छ। ‘उहाँहरू (ओली–प्रचण्ड) दिनहुँजस्तै वन टु वन वार्तामा बस्नुहुन्छ,’ प्रधानमन्त्री ओलीका सञ्चारविज्ञ रामशरण बजगाईंले भने, ‘कहिलेकाहीँ आवश्यकताअनुसार दिनमा दुई पटकसम्म पनि बस्नुहुन्छ, छलफल गर्नुहुन्छ।’

दुई अध्यक्षबीच गत बिहीबार पनि एकान्त वार्ता भयो। बिहान नौ बजे बालुवाटार पुगेका दाहाल दिउँसो साढे एक बजे त्यहाँबाट निस्किए। झन्डै साढे चार घण्टा लामो छलफल गरेका उनीहरूले खाना पनि सँगै खाए। शुक्रबार साँझ फेरि कुराकानी गरे। वार्ता लम्बिएपछि प्रधानमन्त्री ओलीले ६ बजे बोलाएको मन्त्रिपरिषद् बैठक सात बजे मात्रै बस्यो। गत आइतबारदेखि शनिबारसम्म ओली र दाहालबीच ६ पटक एकान्त वार्ता भयो। कात्तिक महिनाभरमा १४ पटक यस्तो वार्ता भएको छ

पछिल्लो समय उनीहरूबीच चार–पाँच घण्टासम्म कुराकानी हुने गरेको छ। कहिलेकाहीँ केही संगठनात्मक काम गर्न परे महासचिव विष्णु पौडेललाई पनि बैठकमा राख्छन्, नत्र एकान्त वार्ता नै गर्छन्।उनीहरूले पछिल्लो समय सातै प्रदेश प्रमुख हेरफेर, पार्टीका केन्द्रीय आयोग र मञ्च गठनमा सहमति जुटाएका थिए। दुई अध्यक्षबीच बन्द कोठाभित्र भएको वार्ता र समझदारीबारे सामान्य जानकारी दुवैतर्फका सचिवालयले दिए पनि ठोस कुरा गोप्य राख्ने गरिएको छ। यतिसम्म कि पार्टी सचिवालयकै नेतासमेत ओली र दाहालको भेटवार्ताबारे बेखबरजस्तो देखिन्छन्

‘दुई अध्यक्ष पटक–पटक लामो कुराकानी हुन्छ तर के विषयमा कुरा गर्नुहुन्छ, त्यो सबै हामीलाई भन्नुहुन्न,’ महासचिव विष्णु पौडेलले भने, ‘पार्टी र सरकारका कामलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी गर्नुहुन्छ होला।’

पार्टी र सरकारबीच समन्वय नभएको र प्रधानमन्त्रीले एकलौटी ढंगले सरकार चलाएको भनेर दाहालले बेला–बेला असन्तुष्टि पोख्ने गरेका छन्। दुई तिहाइ सरकारको आलोचना गरेको र सरकारका निर्णयमा अनावश्यक चासो राखेको भन्दै प्रधानमन्त्री ओलीको पनि दाहालप्रति गुनासो छ। ओली र दाहालबीच पार्टी एकताअगाडि ०७५ जेठ २ मा बालुवाटारमा भएको ६ बुँदे सहमतिलाई लिएर विवाद र आशंका छन्। उक्त सहमतिबारे दाहालले समयसीमाभन्दा चाँडै र अनावश्यक ढंगले बहस गराएको बुझाइ ओलीको छ


कस्तो लाग्यो ?

यो पनि