जेठ ०५, २०८१, शनिबार
               

नेपाल–भारत सीमा विवाद : चीनले बल्ल मुख खोल्यो

नेपाल फ्ल्यास
कात्तिक २९, २०७६

ADVERTISEMENT

काठमाडौं : नेपाली भूभाग कालापानी क्षेत्र अतिक्रमणबारे अर्को छिमेकी चीनले एक सातासम्म मौन थियो । यसले कुनै प्रतिक्रिया दिएको थिएन । सीमा विवादका बारेमा चीनले बल्ल मुख खोलेको छ । 
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता जेन सुहाङले नियमित पत्रकार भेटघाटमा कालापानी अतिक्रमणबारे आएको जिज्ञासामा उनले वार्ताबाट समस्याको समधान  खोज्न सुझाए । उनले भने, ‘कालापानी क्षेत्रबारे नेपाल र भारतले शान्तिपूर्ण मित्रवत वार्ता गरेर समाधान खोज्न आवश्यक छ ।’

जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर केन्द्र शासित प्रान्त बनाएपछि भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रलाई समेत पारेको थियो । त्यसबारे समाचार बाहिर आएपछि भारतको उक्त कदमबारे चर्को विरोध भइरहेको छ । सरकारले पनि एकपक्षीय नक्सा अस्वीकार्य भएको जानकारी दिइसकेको छ । 

भारतसँग कसरी प्रस्तुत हुने भन्दै सरकाले राजनीतिक दल, बुद्धिजीवीलगायत सीमा विज्ञसँग छुट्टै छलफल गरेरसमेत परिपक्व धारणा बनाएको छ । उक्त क्षेत्र भारतले मिचेको भन्नेमा सबै राजनीतिक दल, बुद्धिजीवी एक स्थानमा उभिएर कूटनीतिक पहलबाट समाधान खोज्न सुझाव दिएका थिए ।

भारतले राजनीतिक नक्सा सार्वजनिक गर्दा नेपालको भूभाग भारतको नक्सामा पारेपछि नेपालको असन्तुष्टिबारे चिनियाँ धारणा बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको थियो । त्यसको उत्तर स्वरूप प्रवक्ताले उक्त धारणा व्यक्त गरेका हुन् । बेइजिङको धारणा राख्दै काठमाडौंस्थित चिनियाँ राजदूतावासका प्रवक्ता वाङ सिओयोलोङले भने, ‘यो हाम्रो आधिकारिक धारणा हो । कालापानी समस्याको समाधान शान्तिपूर्ण र मित्रवत् वार्ता नै हो । हामी त्यही सफलताका लागि दुवै पक्षलाई कामना गर्दछौ ं।’

कालापानी भनेपछि सबै क्षेत्र पर्छ भन्दै उनले यसमा अन्य धारणा आफ्नो नरहेको भन्दै आधिकारिक धारणाबारे आफू परामर्श गर्न तयार रहेको बताएको अन्नपूर्ण पोस्टमा समाचार छ ।
उता चीनले लिपुलेक र लिम्पियाधुराबारे कुनै धारणा राखेको छैन । चीन र भारतले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने सहमति गर्दा नेपालले यो त्रिदेशीय बिन्दु भएको भन्दै पाँच वर्ष अघि नै विरोध गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि