जेठ ०५, २०८१, शनिबार
               

भद्रगोल नेकपा : तीन महिनामा बस्नुपर्ने स्थायी कमिटी एक वर्षमा पनि बसेन

नेपाल फ्ल्यास
कात्तिक २८, २०७६

ADVERTISEMENT

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई आरोप लाग्ने गर्छ– पार्टी संगठन एकलौटी चलाए । 
उनीहरु दुईले सहमति गरेपछि सचिवालयका सदस्यले अनुमोदन गर्ने मात्रै जिम्मेवारी पाएकोजस्तो असन्तुष्टि सुनिन्छ । पार्टी सचिवालय मात्र क्रियाशील छ नेकपामा ।
केन्द्रीय समितिदेखि स्थायी समिति तथा सांगठनिक गतिविधि भद्रगोल छ । पार्टीलाई चुस्त र दुरुस्त बनाउने गरी पार्टी एकता भए पनि पोलिटब्युरो गठन नै हुन सकेको छैन ।

पार्टीको केन्द्रीय संरचना सक्रिय नहुँदा सदस्य भएकाहरू पनि आफूले जिम्मेवारी नपाउँदा पार्टी चलायमान बन्न नसकेको गुनासो गर्छन् । पार्टी एकतापछि पार्टीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । पार्टीका केन्द्रीय सदस्यहरूको शपथको समयमा निर्वाचन आयोगमा दल दर्ताका लागि हस्ताक्षर गर्नका लागि बैठक बसे पनि दोस्रो बैठक बस्न सकेको छैन ।

पार्टीको विधानअनुसार ६÷६ महिनामा बैठक बस्नुपर्ने प्रावधान भए पनि केन्द्रिय समिति बैठक बस्न सकेको छैन । पार्टीको केन्द्रीय सदस्य भएर पनि पार्टीको तल्लो तहसम्म जाँदा पार्टीको नीति तथा गतिविधिको विषयमा जानकारी नपाएको केन्द्रीय सदस्य गणेश पहाडीले बताए ।

यसैगरी, तीनरतीन महिनामा बस्नुपर्ने पार्टीको स्थायी समिति बैठक झन्डै एक वर्ष बित्न लाग्दासमेत बस्न सकेको छैन । नेकपाको अन्तरिम विधानमा तीनरतीन महिनामा स्थायी समितिको बैठक बस्नुपर्ने प्रावधान छ । गत वर्ष पुसपछि स्थायी समिति बैठक बसेको छैन । स्थायी समिति नबसेकै कारण गत ३१ साउनमा नेकपा सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्ष बनाउन गरेको निर्णय अझै अनुमोदन भएको छैन । स्थायी समिति नबस्दा यस्ता थुप्रै काम अड्किएका छन् ।

स्थायी समिति सदस्य घनश्याम भुसालले बैठक नबसेकाले पार्टी लथालिंग भएको बताए । ‘हामीले पार्टी चलाएकै छैनौं । पार्टी लथालिंग छ,’ उनले भने, ‘पार्टीभित्र अन्योल बढेको छ भने दुई तिहाइको सरकारलाई जनतामा स्थापित गर्न सकिएको छैन ।’ उनले अब त स्थायी समितिको बैठक बोलाउने माग गर्नु पनि लज्जाको विषय बनेको बताएको राजधानी दैनिकमा खबर छ । यति धेरै माग हुँदा पनि बैठक नराख्नु उदेकको दृढता भएको उनले बताए । पार्टी लथालिंग हुनुमा सचिवालयसमेत जिम्मेवार रहेको उनी बताउँछन् ।


कस्तो लाग्यो ?

यो पनि