जेठ ०५, २०८१, शनिबार
               

मन्त्री हेरफेर गर्दै प्रधानमन्त्री
मुख्यमन्त्री पनि फेर्ने प्रधानमन्त्रीको संकेत

नेपाल फ्ल्यास
कात्तिक २५, २०७६

ADVERTISEMENT

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सल्लाहकारलाई राजीनामा दिन लगाएपछि मन्त्रिपरिषद् हेरफेरको चर्चा चुलिएको छ । अधिकांश मन्त्रीको कामदेखि असन्तुष्ट ओली एकैपटक सबै मन्त्रीलाई राजीनामा दिन लगाएर नयाँ मन्त्री ल्याउने तयारीमा छन् ।

आफूलाई चित्त बुझेका मन्त्री पुनः नियुक्त गर्ने तयारी उनको छ । भदौयता मन्त्री हेरफेरको चर्चा चल्दै आए पनि प्रधानमन्त्री केपी ओलीले ‘एक्सन’ लिएका थिएनन् । अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भने ‘गम्भीर छलफल’ भएको बालुवाटार स्रोतले बताएको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

स्रोतका अनुसार कम्तीमा आठ मन्त्री फेर्ने तयारी छ । शिवमाया तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्री बनाउन दुवै अध्यक्ष एकमत देखिएका छन् । प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू फेरबदलको संकेतसमेत गरेको स्रोत बताउँछ ।

सरकारलाई नयाँ शिराबाट जनअपेक्षाअनुसार अगाडि बढाउने आफ्नो चाहना प्रधानमन्त्री ओलीले सुनाएका थिए । सरकारलाई नयाँ गति दिन पनि मन्त्री हेरफेरको समय आएको र त्यसको तयारीमा आफू रहेको उनको भनाइ थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा दुई अध्यक्षसँग गृहमन्त्री रामबहादुर थापा पनि सहभागी थिए । उनीहरूबीच झन्डै तीन घण्टा छलफल भएको थियो ।

ओली ३ फागुन २०७४ मा प्रधानमन्त्री नियुक्त भएका थिए । ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको स्थानमा योगेश भट्टराईलाई नियुक्त गरे । तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङ विवादमा आएपछि उनको ठाउँमा भानुभक्त ढकाललाई ल्याइएको थियो । यसबाहेक ओलीले २१ महिनामा कुनै पनि मन्त्री हेरफेर गरेनन् ।


कस्तो लाग्यो ?

यो पनि