जेठ ०५, २०८१, शनिबार
               

दोधारमा उपेन्द्र यादव

नेपाल फ्ल्यास
कात्तिक २१, २०७६

ADVERTISEMENT

काठमाडौं : समाजवादी पार्टीले सरकार छाड्ने चर्चा चलेको लामै समय भयो । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई तत्काल सरकार छाड्नुपर्ने पक्षमा छन् । तर, उपप्रधान तथा स्वास्थ्यमन्त्री तथा पार्टी अध्यक्ष उपेन्द्र यादव आलटाल गरिरहेका छन् ।

तर, पछिल्लो समय  यादव पनि प्रधानमन्त्री केपी ओलीसँग रुष्ट भएका छन् । संविधान संशोधन गर्ने लिखित सहमति गरेर उनी डेढ वर्षअघि सरकारमा सहभागी भएका थिए। तर सरकार र सत्तारुढ दल नेकपाले संविधान संशोधनको पहल नगरेको र सरकारले गरिरहेका विभिन्न नियुक्तीमा समेत उनलाई कुनै भागबन्डा नदिँदा उनी आफ्नै पार्टीको दबाबमा परेका छन् ।

आफूसँग छलफल नगरी प्रदेश २ मा नयाँ प्रदेश प्रमुख नियुक्त गरेपछि यादव मंगलबार अचानक जनकपुर पुगेर मुख्यमन्त्री तथा पार्टीका उपाध्यक्ष लालबाबु राउतसँग छलफल गरे । उनले प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका पार्टीका प्रदेश प्रमुख विजय यादवसँग समेत छलफल गरे । छलफलपछि उनी बुधबार काठमाडौंमा बसेको पार्टीको पदाधिकारी बैठकमा सहभागी भए ।

पार्टीको पदाधिकारी बैठकमा उनले प्रदेश प्रमुख नियुक्तिमा सरकारले आफूसँग छलफल नगरेको जानकारी गराए । उनले संघीय परिषद् र केन्द्रीय समितिको बैठकमा सरकारको समीक्षा गरेर ठोस निर्णयमा पुग्ने बताए । बैठकमा उपनिर्वाचनबारे पनि छलफल भएको समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले बताए । बैठकले केन्द्रीय समिति र संघीय परिषद्मा पेस गर्न राजनीतिक प्रतिवेदन बनाउने जिम्मा केही नेतालाई दिएको छ ।

पछिल्लो समय समाजवादीमा सरकारबाट बाहिरिनु पर्ने आवाज निकै मुखर भएको छ । कात्तिक २८ मा बस्ने केन्द्रीय समिति र संघीय परिषद्को बैठकले त्यसको अन्तिम टुंगो लगाउने नेताहरूले बताएको अन्नपूर्ण पोस्टमा खबर छ । खासगरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्ति एकीकरण गरेपछि समाजवादीभित्र सरकारबाट बाहिरिन दबाब बढ्दै गएको छ । एक पदाधिकारी नेताले सरकारमा सहभागी भए पनि सत्तारुढ नेकपाले समाजवादी पार्टीसँग प्रतिपक्षी पार्टीको जस्तो व्यवहार गरेको बैठकमा चर्चा भएको बताए ।


कस्तो लाग्यो ?

यो पनि