जेठ ०५, २०८१, शनिबार
               

महरा दाेषी छन्, कारवाही हुनैपर्छः प्रचण्ड
पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती

नेपाल फ्ल्यास
कात्तिक २०, २०७६

ADVERTISEMENT

दाङ — नेकपा अध्यक्ष प्रचण्डले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताएका छन् । प्रेस संगठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै प्रचण्डले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानुनीरुपमा उचित कारवाही हुनुपर्ने धारणा व्यक्त गरे ।
लामो सयमसम्म महराबारे सार्वजनिकरुपमा नबोलेका प्रचण्डले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका हुन् । ‘महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गर्नुभयो । महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताउनुभयो,’ उनले भने, ‘पहिले केही गरेको छैन भन्नुभयो । पछि सबै तथ्यहरुले उहाँले गल्ती गरेको पुष्टि भयो । आफैंले पनि स्विकार्नुभयो ।’
जिम्मेवार पदमा पुगेको व्यक्तिले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन् नराम्रो काम भएको उनले बताए । ‘पहिले अरु नेताहरुलाई बुझ्न पठाएँ, गलत जानकारी दिनुभयो । चित्त नबुझेर आफैं बुझ्न गएँ तर पनि सही कुरा भन्नुभएन,’ उनले भने, ‘आफ्नो नेतृत्वलाई त्यसरी ढाँट्नु उचित भएन । झन् गल्ती भयो ।’
महराले गरेको गल्तीका बारे अदालतले आवश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताए ।
यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने धारणा दाहालले व्यक्त गरे ।
‘यो गम्भिर नैतिक गल्ती हो । यस्तो घटनामा राजनीतिक संरक्षण उचित हुँदैन,’ उनले भने, ‘अदालतले निर्णय गर्ने कुरामा हामीले केही बोल्नु उचित हुँदैन । स्वतन्त्ररुपमा छानबिन र निर्णय गर्न दिनुपर्छ ।’ महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गरे ।

 


कस्तो लाग्यो ?

यो पनि