बैशाख १८, २०८१, मंगलबार
               

मिर्गौलाले काम नगरेको प्रधानमन्त्रीले स्वीकारे

नेपाल फ्ल्यास
कात्तिक १७, २०७६

ADVERTISEMENT

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई लिएर पछिलो समय विभिन्न खाले टिकाटीप्पणी हुन थालेको छ । उपचारका लागि पटकपटक सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा उनको सचिवालयले समेत लुकाउँदै आएको भन्दै आलोचना हुँदै आएको छ ।

केही दिनअघि ग्राण्डि अस्पतालामा डायलाइसिस गर्न गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य सामान्य रहेको र उनको नियमित जाँच मात्रै भएको उनको सचिवालयले जनाएको थियो । तर, प्रधानमन्त्री ओलीले आफ्नो मिर्गौलाले काम नगरेको स्वीकार गरेका छन् । शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यस्तो स्वीकार गरेको आजको कान्तिपुर दैनिकमा खबर छ ।

ओलीले आफू सिकिस्त नभएको तर मिर्गौलाले राम्ररी काम नगरेको जानकारी सचिवालय बैठकमा गराएका थिए । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुइटा विकल्प मात्रै छन्’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘के गर्ने भन्नेबारे रिपोर्ट हेरिसकेपछि मात्रै भन्न सकिने अवस्था छ । फेरि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन पनि सक्छ, हेरौं ।’ 
शनिबारको सचिवालय बैठक ओलीको स्वास्थ्यमा केन्द्रित भएको थियो । बारम्बार अप्ठ्यारो हुन थालेपछि प्रधानमन्त्री ओली बुधबार उपचारका लागि ग्रान्डी अस्पताल पुगेका थिए । उनलाई बुधबार र बिहीबार गरी दुईपटक डायलाइसिस गरिएको थियो ।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले राम्ररी काम गर्न छाडेपछि प्रधानमन्त्री ओली गत साउन १८ गते उपचारका लागि सिंगापुर गएका थिए । नेसनल युनिभर्सिटी अस्पताल सिंगापुरमा एक साता बसेर फर्किएका उनले फेरि भदौमा सिंगापुर गएर करिब २ साता उपचार गराएका थिए । त्यतिखेर प्लाज्माफेरिसस पद्धतिबाट शरीरको एन्टीबडी नष्ट गरिएको थियो ।
 


कस्तो लाग्यो ?

यो पनि