जेठ ०५, २०८१, शनिबार
               

सबै शासक आत्तिएको शंकर पोखरेलले स्वीकारे

नेपाल फ्ल्यास
कात्तिक १६, २०७६

ADVERTISEMENT

प्रदेश ५ काम मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारको कामकारबाहीप्रति सबै क्षेत्रबाट विरोध भएको सही जजमेन्ट मात्र गरेका छैनन् । उनले विरोधबाट सबै जना आत्तिएकोसमेत निष्कर्ष निकालेका छन् ।

मदन भण्डारी फाउन्डेसन कास्कीले पोखरामा शनिवार  गरेको कार्यक्रममा पोखरेलले अहिले सबै जना विरोधबाट आत्तिएको खुलासा गरेका हुन् ।

सरकारको विरोध सुन्नमा आए पनि अहिलेसम्म सरकार र सत्तासीन नेकपा आत्तिएको भने देखिएको थिएन । प्रधानमन्त्री र सरकारका मन्त्रीहरू दरो र खरो रूपमा प्रस्तुत हुँदै आएका थिए । 

यति नै बेला प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र मानिने शङ्कर पोखरेलले सबै जना आत्तिएको खुलासा गरेका हुन् । तर उनले विरोधबाट नअत्तालिन आग्रहसमेत गरेका छन् । 

उनले भने- ‘सरकारको विरोधबाट सबै जना आत्तिएको देख्छु । अग्रगमनको बाटो समाएको बेला यथास्थितिवादीको विरोध हुन्छ । अहिले डराउनुपर्ने केही पनि छैन । यो विरोधलाई सामान्य रूपमा लिनुपर्छ ।'

उनले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको पनि बताएका छन् । तर नेपालको समृद्धिमा पूर्वराजा चुनौती नबन्ने धारणा उनले राखेका छन् । 

विगतमा राज्यको स्रोत कब्जा गर्नेहरूले अहिले सरकारको विरोध गरिरहेको उनको आरोप छ । उनले व्यक्तिगत स्वार्थका कारण नकारात्मक कुरा गरिएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेपालको राजनीति विद्रोही चेतनामै रहेको र त्योभन्दा बाहिर जान नसकेको धारणा पनि राखेका थिए ।

पोखरेलले अहिलेका राजनीतिककर्मीलाई दोष पनि थोपरेका छन् । एउटा युगका लागि एउटा क्रान्ति पर्याप्त हुनेमा तीनवटा क्रान्ति सफल हुँदा पनि मुलुकले प्रगति गर्न नसक्नुमा राजनीतिकर्मी र दलका कार्यकर्ता दोषी रहेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि