जेठ ०५, २०८१, शनिबार
               

उपनिर्वाचनमा उम्मेदवार छान्न कांग्रेसलाई कठीन

नेपाल फ्ल्यास
कात्तिक १४, २०७६

ADVERTISEMENT

उपनिर्वाचनमा संघ र प्रदेशतर्फका उम्मेदवार तय गर्न प्रमुख प्रतिपक्ष कांग्रेसमा सकस भइरहेको छ। उम्मेदवारी दर्ताका लागि एक साता मात्र समय बाँकी रहेका बेला कांग्रेसले उम्मेदवारको टुंगो लगाउन सकेको छैन। उपनिर्वाचन मंसिर १४ गतेका लागि तोकिएको छ।

निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। संघ र प्रदेश निर्वाचनका लागि उम्मेदवार मनोनयन दर्ता २१ गतेका लागि तोकिएको छ। प्रतिनिधिसभाअन्तर्गत कास्की २ र प्रदेशसभामा भक्तपुर, बागलुङ र दाङमा एकएक निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ।

कांग्रेस क्षेत्रीय समितिले विधानविपरीत ठूलो संख्यामा आकांक्षीको नाम केन्द्रमा पठाएपछि उम्मेदवार चयनमा ढिलाइ भएको हो। कांग्रेस विधानमा प्रदेशसभा र प्रतिनिधिसभा उम्मेदवारका लागि प्रत्यक्षतर्फ बढीमा तीन जना र समानुपातिकतर्फ एक महिलासहित बढीमा दुई जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ।

प्रतिनिधिसभातर्फ कास्की २ बाट १६ जना आकांक्षीको नाम केन्द्रमा पठाइएको छ भने प्रदेशसभा सदस्यतर्फ भक्तपुरबाट १० जना, बागलुङबाट ४ र दाङबाट ११ जनाको नाम सिफारिस गरिएको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।

‘हामीले विधानअनुसार तीन जनाको मात्र नाम पठाउन भनेका थियौं। क्षेत्रीय समितिले विधानभन्दा बढी आकांक्षीको नाम पठाएपछि छलफलमा छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘संयन्त्र बनाएर सर्वसम्मत रूपमा टुंगो लगाउँछौं।’ कांग्रेसले विधानभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेपछि क्षेत्रीय समितिलाई ध्यानाकर्षण गराउँदै पत्रसमेत पठाएको थियो।


कस्तो लाग्यो ?

यो पनि