जेठ ०५, २०८१, शनिबार
               

सरकार सुध्रिएन, प्रधानमन्त्री फर्किदा विमान रोकेकोमा चौतर्फी आलोचना

नेपाल फ्ल्यास
कात्तिक १०, २०७६

फाइल फोटो
ADVERTISEMENT

असंलग्न राष्ट्रहरूको सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली अजरबैजानको बाकुबाट फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय उडान र अवतरण प्रभावित भयो ।

सैद्धान्तिक रुपमा सबै समान भन्ने कम्युनिस्ट सरकार सुध्रिएन । भिभिआइपी सवारी भन्दै अरू विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको थियो । 

यो घटनाको अहिले सर्वत्र विरोध भएको छ । विरोध अब सामाजिक सञ्जालमा मात्र होइन । यात्रुले तत्कालै विमानस्थलको रनवे नजिकै पनि गरेका छन् ।

उडन ठिक्क परेको विमानको इन्जिन नै अफ गर्नु परेपछि यात्रुको पारो तात्नु पनि ठिकै थियो । विमानबाट यात्रुहरू ओर्लिएर विरोध जनाए । स्थिति यस्तो बन्यो कि प्रहरी नै विमानस्थलभित्र पुग्नु परेको थियो ।

तिहारको बेला । अझ लक्ष्मी पूजाको दिन । श्री एयरलाइन्सको विमान काठमाडौँबाट भद्रपुरका लागि उडन ठिक्क परेको थियो । कतिलाई जिल्ला पुगेर लक्ष्मी पूजाको तयारी गर्नु थियो । कतिलाई आफ्नो घर वा चेलीबेटीकोमा पुग्नु थियो । तर भिभिआइपी सवारीका कारण उडान रोकिएपछि यात्रुहरू विमानबाट बाहिरिएर विरोध जनाउन बाध्य भएका थिए ।

अरू देशमा भएको भए यस्तो घटनापछि सरकार वा विमानस्थल प्रशासनले माफी माग्ने गर्छ । कतिपय देशमा त मन्त्रीले राजीनामासम्म गरेका उदाहरण छन् । तर नेपाल हो । विमानस्थल प्रशासनले यसलाई सामान्य भनेको छ । भिभिआइपी सवारीमा केही समय उडान र अवतरण रोकिनु सामान्य भएको उसले जनाएको छ ।

राष्ट्रपति तथा प्रधानमन्त्रीको विदेश भ्रमणका समयमा अक्सर विमानस्थलमा नेपालीले दुख पाउने गरेका छन् ।

पर्यटनमन्त्री योगेश भट्टराईले नेपालगन्जबाट काठमाडौँ आउने क्रममा बुद्ध एयरको विमान ४५ मिनेट डिले गराएको भन्दै भ्रष्टाचार विरोध अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले मन्त्रीलाई आपत्ति जनाएका थिए ।

असहमति प्रति धेरैले साथ जनाए पनि त्यस बखतको व्यवहारलाई कतिपयले रुचाएनन् । असहमति प्रकट गर्ने शैलीबारे जसले जे धारणा राखे पनि भिआइपी वा भिभिआइपीको नाममा सर्वसाधारणको हवाइउडान तालीका र समय प्रभावित हुन नहुनेमा कमैको विमति देखियो ।

नेपालगन्ज घटनाबाटै सरकारले पाठ सिक्नु पर्नेमा सो घटनालाई राजनीतिक प्रतिशोधमात्र ठानेर समस्याको दीर्घकालीन समाधान खोजिएको छ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने आज आइतबार भद्रपुर जाने विमानभित्र न त ज्ञानेन्द्र शाही थिए न त वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने नै । तर यात्रुको धैर्यताको सीमा टुट्यो ।

केही समयअघि राष्ट्रपतिको सवारी भनेर बाटोमा ट्राफिकले धेरैबेर अवरोध गरेपछि चालकहरूले त्यसको अवज्ञा गरेका थिए । जनस्तरमा देखिएको यो आक्रोश व्यवस्थापनको उपायको खोजीमा भन्दा सरकार र सरकारी निकायले त्यस्ता घटनामा राजनीतिबाहेक केही देख्ने गरेको छैन ।


कस्तो लाग्यो ?

यो पनि